'ब्याजदरमा सहमति'खोज्न अर्थमन्त्री खतिवडाको निर्देशन

अर्थ फागुन २३ २०७५ ekhabarnepal
99

काठमाडौँ फागुन २३, अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा सहमति खोज्न उद्योगी र बैंकरलाई निर्देशन दिएका छन् ।

दुवै पक्ष निजी क्षेत्र भएकाले एकै ठाउँ बसेर सहमति खोज्न आग्रह गर्दै उनले सरकारको हस्तक्षेप ननिम्त्याउन चेतावनीसमेत दिए । “बैंक र उद्योग दुवै निजी क्षेत्र हुन्, तपाईंहरूको छाता संगठन उद्योग वाणिज्य महासंघमा बसेर छलफल गरी निष्कर्ष निकाल्नुहोस्,” इन्फ्रास्टक्चर बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, “हामी सुँड पसारेर तपाईंहरूको क्षेत्रमा हस्तक्षेप गर्न इच्छुक छैनौं ।” बैंक र उद्योगीबीच झगडा भइरहने हो भने त्यसलाई मिलाउन सरकारले हस्तक्षेप गर्ने उनको भनाइ थियो ।बैंकको व्याजदर चर्को भएको भन्दै विभिन्न क्षेत्रका उद्योगीहरूले आन्दोलन सुरु गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले उद्योगीहरूलाई बोलाएर उनीहरूका माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत गरेको व्यवस्थाले माग सम्बोधन नहुने उद्योगीहरूको गुनासो आएका बेला अर्थमन्त्रीले बीचको बाटो खोज्न निर्देशन दिएका हुन् ।


सरकारले ब्याजदरलाई सन्तुलित राख्न खोजेको र त्यसका लागि संस्थागत निक्षेपकर्तालाई समेत निर्देशन दिइएको अर्थमन्त्री खतिवडाले बताए । “संस्थागत निक्षेपकर्ताले अत्यधिक मौसमी लाभ लिन नखोज्नोस् भनिसकेको छु,” उनले भने, “यसलाई हस्तक्षेप भने पनि सल्लाह भने पनि सुझाव भने पनि सरकारले ब्याजदर सन्तुलित बनाउन खोजेको हो ।”अर्थमन्त्री खतिवडाले बैंकहरूको संख्या धेरै हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्ध भएको भन्दै मर्जरमा जानसमेत सुझाव दिए । “निजी व्यवसाय भएकाले हामी फोर्स मर्जरमा जान चाहेनौं,” उनले भने, “संख्या बढी भए, घटाउनुपर्छ भन्ने साथीहरू मर्जरमा जान पनि पहल गर्नुहोस् ।” पछिल्लो १० वर्षमा बैंकहरूको पुँजी उल्लेख्य वृद्धि भए पनि सोहीअनुसार उत्पादनमूलक क्षेत्र वृद्धि नभएकोमा समेत उनको असन्तुष्टि थियो ।


अर्थमन्त्री खतिवडाले इन्फ्रास्टक्चर बैंकले अन्य बैंकको प्रतिस्पर्धी नभई पुरक बैंकका रूपमा काम गर्न सुझाव दिए । “यो बैंकले दीर्घकालिन योजनामा लगानी गर्न लिड बैंकका रूपमा काम गर्नुपर्छ,” उनले भने, “आफ्ना योजना, कार्यालय तथा कर्मचारीको व्यवस्था, लगानी स्रोतको व्यवस्था सोही अनुसार गर्नुहोस् ।”कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले नेपालमा पूर्वाधारको विकास आवश्यक भएको समयमा बैंक खुलेको र लगानी पूर्वाधार विकासमै हुनुपर्ने बताए । राष्ट्र बैंकले हालै विदेशबाट ऋण ल्याउन सकिने व्यवस्था गरेको भन्दै उनले बैंकलाई दीर्घकालिन स्रोत जुटाएर दीर्घकालिन योजनामा लगानी गर्न निर्देशनसमेत दिए ।


बैंकका अध्यक्ष अनुज अग्रवालले पूर्वाधार विकासका लागि मोडल बैंक भएर काम गर्ने बताए । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले जलविद्युत्, पर्यटन, पूर्वाधार विकासलगायतका दीर्घकालिन परियोजनामा बैंकले लगानी गर्ने र सोही अनुसार योजना अघि बढिरहेको जानकारी दिए ।२० अर्ब चुक्ता पुँजी रहेको बैंकमा सरकारको १० प्रतिशत सेयर छ । यसैगरी इन्स्योरेन्स कम्पनीहरूको १८.९७ प्रतिशत, बाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, पब्लिक तथा प्राइभेट कम्पनीको ५.१५ प्रतिशत र व्यक्तिगत ४.९९ प्रतिशत लगानी छ । यसैगरी ४० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top