सम्भाव्य उद्योगीहरुका लागि उद्यमशीलता गोष्ठी

अर्थ फागुन १९ २०७५ ekhabarnepal
1

तिलोत्तमा,फाल्गुण १९ ।
उद्योग–व्यवसाय गर्न चाहनेहरुलाई तिलोत्तमा नगरपालिकाले सहजिकरण गर्ने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, बुटवल कार्यालयको सहकार्यमा नगरपालिकाले उद्योग–व्यवसायमा आफ्नो ‘करिअर’ बनाउन चाहनेहरुलाई सहजीकरण गर्ने भएको हो । नगरपालिकाले पहिलो चरणमा सम्भाव्य उद्योगीहरुका लागि आज उद्यमशीलता सचेतना गोष्ठी गरेको छ ।
गोष्ठीमा विभिन्न वडाका ३५ जनाको सहभागिता रहेको थियो । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका, प्राविधिक सीप भएका, व्यवसाय गर्न इच्छुक बेरोजगार युवाहरुलाई लक्षित गरी कार्यक्रम गरिएको आर्थिक विकास शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।
नगरपालिका क्षेत्रमा गर्न सकिने उद्योग–व्यवसायका बारेमा जानकारी गराइएको गोष्ठीमा त्यसका लागि आवश्यक सीप, पूँजी, श्रमलगायतका विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए । गोष्ठीमा नगर प्रमुख बासुदेव घिमिरेले उद्यमशीलताको विकासका लागि नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिकामा नयाँ उद्यमशीलताको विकासका लागि वडा नं. १० मा औद्योगिकग्राम स्थापनाको पहल भैरहेको जनाउँदै नयाँ उद्योगीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो ।
गोष्ठीमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, बुटवल कार्यालयका प्रमुख मुकुन्द ज्ञवालीले उद्योग–व्यवसाय गर्न चाहनेहरुलाई प्रतिष्ठानले उत्प्रेरित गर्ने बताउनुभयो । गोष्ठीमा सहभागी भएकाहरुमध्येबाट बीस–पच्चिस जनालाई प्रतिष्ठानले उद्यमशीलता विकास सम्बन्धी तालीम दिने उहाँले जानकारी दिनुभयो । गोष्ठीमा योगेन्द्र श्रीस, मुकुन्द ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालगायतले बोल्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top