'गुग्ली'ब्याट्सम्यानका लागि अब्बल बन्दै'सन्दीप लामिछाने'

खेल फागुन १७ २०७५ ekhabarnepal
777

काठमाडौं । एकपछि अर्को सफलता चुमिरहेका सन्दीप लामिछाने पाकिस्तान सुपर लिग क्रिकेट खेलिरहेका छन् ।

नेपाली राष्ट्रिय टोलीका नियमित र महत्वपूर्ण खेलाडी सन्दीपका पछिल्ला प्रदर्शनको विश्वभरका क्रिकेट प्रेमीमाझ चर्चा छ । एकपछि अर्को खेलमा आफूलाई अब्बल प्रमाणित गर्दै गएका सन्दीपले इन्डीयन प्रिमीयर लिग, बिग बास लिग, टि–टेन लिग, क्यानडा प्रिमीयर लिग, बङ्गलादेश प्रिमीयर लिगमा आफ्नो बलिङको जादु देखाइसकेका छन् । हाल पाकिस्तान सुपर लिगमा लाहोर कलन्दरबाट खेलिरहेका सन्दीपले आफ्नो जादुमयी बलिङमा विश्व क्रिकेटका चर्चित ब्याट्सम्यानलाई सिकार बनाइसकेका छन् ।


पछिल्लो समय एसोसीएट राष्ट्रबाट सबैभन्दा बढी विदेशी लिग खेल्ने सन्दीप एकमात्र खेलाडी हुन् । खेलेकामध्ये सबै लिगमा विश्वका चर्चित ब्याट्सम्यानलाई पवेलियन फर्काएर छाप छाडेका सन्दीपको प्रदर्शनको रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, माइकल क्लार्क, एबी डेभिलियर्सजस्ता क्रिकेटका हस्तीहरुले खुलेरै प्रशंसा गर्दै आएका छन् । सन्दीपले हालसम्म खेलेका छ वटा एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा ४.१७ को इकोनोमीमा १५ विकेट लिएका छन् भने ५ ओटा टी–ट्वान्टी इन्टरनेशनलमा ८.१३ को इकोनोमीमा ५ विकेट लिएका छन् । समग्रमा बिहीबारसम्म खेलेका टि–ट्वान्टीमा भने ३२ म्याचमा ६.५६ को इकोनोमीमा ४२ विकेट लिएका छन् ।

लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेटमा पछिल्ला खेलेका ४ खेलमा १० विकेट लिएका छन् । पहिलो खेलमा ३ विकेट लिएका सन्दीपले दोस्रो खेलमा १, तेस्रोमा ४ र चौथोमा २ विकेट लिए । लाहोर कलन्दरबाट तेस्रो खेलेका सन्दीपले बुधबारको म्याचमा चार ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिएका हुन्् । विदेशी लिगमा सन्दीपको यो उत्कृष्ट प्रदर्शन हो । आइपिएलमा दिल्ली डेयरडेभिल्समा आवद्ध र पछिल्लो समय घरेलु लिगभन्दा व्यस्त सन्दीपको बलिङ ब्याट्सम्यानलाई खेल्न किन गाह्रो हुन्छ ? नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्, ‘‘सन्दीप परिस्थितिको राम्रोसँग पहिचान गर्नसक्छन् । विश्वका राम्रा खेलाडीसँग खेल्दै जाँदा अनुभव पनि बढ्दै गएको छ । बलिङमा उनीसँग गुग्लीसँगै थप ३–४ ओटा रेडिएसन छन् । जसलाई बुझ्न ब्याट्सम्यानलाई कठिन हुन्छ  ।’’

नेपाली यु–१९ राष्ट्रिय टिमका प्रशिक्षक विनोद दास भन्छन्, ‘‘सन्दीपको बलिङको सबैभन्दा बलियो पक्ष राम्रो नियन्त्रण र अनुशासित बलिङ हो । उनले खराब बल निकै कम फाल्छन् ।’’
सन्दीपको बलिङमा ‘कन्ट्रोल’ र राम्रो ‘भेरिएसन’ भएको दास बताउँछन् । ‘‘सन्दीप नेपाली क्रिकेटका स्टार हुन् । एकपछि अर्को अनुभवले उनले कैयौं सफलता प्राप्त गर्नेछन्,’’ दासले भने । दास पनि सन्दीपको ‘गुग्ली’ ब्याट्सम्यानलाई ट्रयाप पार्ने ठूलो अस्त्र भएको बताउँछन् ।

क्रिकेट पण्डितहरुका अनुसार सन्दीपले फालेको बल लेग स्पिनका लागि खेल्न खोज्दा उनको ‘टर्न’सँग प्रायः झुक्किने गरेका छन् । सन्दीपको अर्को बलियो पक्ष भनेको उनको आत्मविश्वास हो । उनी निडर बलरको रुपमा पनि चिनिन्छन् । कुनै ओभर खराब भएपनि उनी अर्को ओभरमा राम्रो कमब्याक गर्नसक्ने हैसियत राख्छन् । अर्को अर्थमा भन्ने हो भने सन्दीप कुनै पनि अवस्थामा आफ्नो बलिङबाट गेम चेन्ज गर्नसक्छन् । विदेशी लिग खेल्दै गर्दा कमेन्टेटरले सन्दीपलाई ‘गेम चेन्जर’को उपाधि समेत दिँदै आएका छन् । क्रिकेटको छोटो फर्म्याट मानिँदै आएको टि–ट्वान्टीमा सन्दीप घातक सावित हुनुको अर्को कारण हो, ब्याट्सम्यानमा रनको दबाब हुनु । टि–ट्वान्टीमा ब्याट्सम्यानहरु हरेक बलमा चौका–छक्का हान्ने दाउमा हुन्छन् तर बललाई राम्रोसँग बुझ्न नसक्दा आउट हुन पुग्छन् । त्यसमाथि लेग स्पीनरलाई बुझ्न कठिन मानिन्छ ।

यु–१९ टोलीका पूर्वकप्तान तथा राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी दिपेन्द्रसिहं ऐरी सन्दीपको बलिङ शैलीको प्रशंसा गर्छन् । उनी भन्छन्, ‘‘उसलाई नयाँ ब्याट्सम्यानले खेल्न निकै गाह्रो हुन्छ । औंंलामा बल घुमाएर लेग स्पीनरले फालेको बललाई राम्रोसँग रिड गर्न नसक्दा ब्याटको माथि लाग्ने वा एलविडब्लुको धरापमा पर्ने सम्भावना बढी हुन्छ ।’’ दिपेन्द्रको बुझाइमा पनि सन्दीपको ‘गुग्ली’ ब्याट्सम्यानका लागि निकै खतरनाक नै हुन्छ । 

प्राप्त प्रतिकृयाहरू

To Top