बुटवलको बधशाला सहकार्यमा अगाडि बढाइने 

स्वास्थ्य फागुन १३ २०७५ ekhabarnepal
Badhasala meeting 1

बुटवल, फाल्गुन १३
 बुटवलमा निर्माणाधिन पशु बधशालालाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाइने भएको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा बनिरहेको बधशालाको तत्कालै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ ।

गुरुयोजनाका बारेमा छलफल गर्न सोमबार सर्बपक्षीय समितिको बैठक बसेको थियो । बैठकले क्रमागत रुपमा बहुवर्षीय परियोजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

बधशालाका लागि चालु आवमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक करोड ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ भने बुटवल उपमहानगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । यहीँ बजेटबाट पूर्वाधार निर्माणको काम सञ्चालनका लागि डीपीआर तथा गुरुयोजना बनाउन लागिएको बधशाला निर्माण समितिका सहसंयोजक कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी–उत्पादकको साझेदारी मोडलबाट सञ्चालन गर्न लागिएको छ । यो कामका लागि हेफर इन्टरनेशनलले सहकार्य गरिरहेको छ ।

सोमबारको बैठकमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दीर्घकालिन योजनाका आधारमा काम अगाडि बढाउन प्रदेश सरकार तयार रहेको भन्दै विस्तृत परियोजना प्रतिवेदन पछि बजेटका बारेमा थप छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले किसान, सहकारी र निजी क्षेत्रले देखाएको सहकार्यको तत्परताले आफुहरुलाई खुशी लागेको भन्दै सबैको सहकार्यमा नै दिगो र टिकाउ काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न चाहिने आर्थिक स्रोत स्थानीय, प्रदेश, संघीय सरकारका अतिरिक्त निजी र सहकारी क्षेत्रबाट जुटाइने समितिका सदस्य तथा हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा.तीर्थराज रेग्मीले बताउनुभयो ।


सोमबारको बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशुपंछी महाशाखा प्रमुख डा.प्रदिप शर्मा, पायोनियर ल एशोसिएशनका इन्जििनियर नारायण चौलागाइँ, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख देवनारायण सापकोटा, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठ तथा उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष नर्बू लामा, झविन्द्र बञ्जाडे, हेफरका कार्यक्रम निर्देशक अनन्त सिलवाललगायतले आधुनिक बधशाला निर्माणका लागि सहकार्यको अबधारणा राम्रो रहेको बताउनुभयो ।
आधुनिक बधशाला निर्माणका लागि जग्गा बाहेक कम्तिमा १५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।

यस्मा भवन, आधुनिक उपकरणहरु, फोहरको व्यवस्थापन, बध गरिने पशुहरुको स्वास्थ्य जाँच गर्ने स्थल, चिकित्सकको नियमित निगरानी लगायतका कामहरु पर्दछन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top