बैंकमा हस्तक्षेप हुन सक्ने 'अर्थमन्त्रीको चेतावनी'

अर्थ फागुन ६ २०७५ ekhabarnepal
5555555555555555555

काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय बजार प्रतिस्पर्धी ढंगबाट नचले हस्तक्षेप हुनसक्ने चेतावनी दिएका छन् ।

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआइ) सञ्चालनको १० वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले प्रतिस्पर्धी ढंगबाट नचले बैंकहरूमाथि हस्तक्षेप हुन सक्ने चेतावनी दिएका हुन् । “सवैले प्रतिस्पर्धी ढंगबाट काम गर्नुपर्छ,” उनले भने, ”न्यूनतम् नाफा हुनैपर्छ भन्ने कुरामा द्विविधा छैन, तर प्रतिस्पर्धी ढंगले चलेन भने हस्तक्षेप हुन्छ, त्यो बैंकिङ क्षेत्रमा पनि हुनसक्छ ।”सरकारलाई निजी क्षेत्रले हाल बैंकको ब्याजदर नियन्त्रणका लागि दबाब दिइरहेको छ । शनिबार मात्रै उद्योगीको समूहले प्रधानमन्त्री केपी ओलीसहित अर्थमन्त्री डा. खतिवडा, गभर्नर डा. चिरञ्जीवी नेपालसँग बालुवाटारमा ब्याजदरको समस्या समाधान गर्न माग गरेको थियो ।


कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने तत्काल ब्याज दर घट्ने अवस्था नरहेको बताए । उनले तीन वर्षअघिको जस्तो ब्याज दर नखोज्न व्यवसायीलाई आग्रह गरे । आधार दर १० प्रतिशतमाथि रहेका कारण ऋणको ब्याजदर व्यवसायीले भनेजस्तो एकल अंकमा ल्याउन सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकिङ क्षेत्रमा प्रत्येक दिन नयाँ परिवर्तन हुने गरेको भन्दै त्यसका लागि कर्मचारीलाई उपयुक्त तालिम दिन सुझाव दिए । उनले नेपाली बैंकिङ ‘डिजिटलाइज्ड’ भइरहेको भन्दै त्यसमा पनि निकै चुनौती रहेको बताए । अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नरले उद्घाटन गरेको कार्यक्रममा गभर्नर नेपालले बैंकिङ व्यवसाय विगतको परम्परागत बैंकिङबाट परिवर्तन भई प्रविधियुक्त हुँदै गएका बेला यससँगै निहित जोखिमबारे पनि समयानुकूल जानकारी हासिल गर्न आवश्यक रहेको बताए ।


सरकार तथा एसियन विकास बैंकको सहयोगमा नेपाल राष्ट्र बैंक तथा अन्य बैंक वित्तीय संस्थाको संयुक्त लगानीमा स्थापना भएको नेसनल बैंकिङ इन्स्टिच्यूटले बैंक तथा वित्तीय संस्थालगायत अन्य संगठित संस्थामा कार्यरत कर्मचारीलाई बैंकिङसम्बन्धी ज्ञान अभिवृद्धि तथा दक्षता वृद्धि गर्ने हेतु देश तथा विदेशमा समेत गरी विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।कार्यक्रममा क्षेत्रियस्तरका विभिन्न देशबाट आएका विज्ञहरूबाट बिभिन्न समूहगत छलफल भएको थियो । छलफलमा स्टेट बैंक अफ इन्डियाका एमडी दिनेश खारा, आईडीएफसी बैंकका एमडी एवं सिईओ भि. वैद्यानाथन, स्टेट बैंक अफ इन्डियाका स्वतन्त्र सञ्चालक एवम् बैंकिङविज्ञ सञ्जिव मल्होत्रा, एचडीएफसी बैंकका ट्रेजरर आशिष पार्थसारथी, फरेन एक्सचेन्ज डिलर्स एसोसिएसन अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अश्विनी सिंधवानी तथा भारतका प्रख्यात आर्थिक पत्रकार तमल बन्दोपाध्याय पनि सहभागी थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top