शिद्धबाबा क्षेत्रमा भौगर्विक सर्भे : बिकल्पमा 'सुरूङ मार्ग' कि 'बेन्चकट'

बिचार माघ २८ २०७५ प्रकाश आचार्य
Siddha bab parisar6873 780835

बुटवल माघ २८,
 मृत्यु मार्गको रूपमा चिनिने बुटवल–पाल्पा सडक खण्डको शिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग बनाउनका लागि भौगर्विक सर्भे शुरू भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग बनाउन पूर्व ‘जियोलोजिकल’ सर्भे थालेको हो । चट्टानको परीक्षण गर्न प्लानेट नेपालले गरिरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तल्लो शिद्धबाबादेखि दोभानसम्म झण्डै ३ किलोमिटर सडक अति जोमिखपूर्ण छ । शिद्धबाबा क्षेत्रमा सरकारले सुरूङ मार्ग बनाउने बताउँदै आएको थियो । सोही कामको पहिलो चरण त्यहाँको चट्टान र भौगोलिक अवस्थाको काम थालिएको हो । सडकमा हिउँद वा वर्ष जुनसुकै समय चट्टान खसेर प्रत्येक वर्ष यात्रुको मृत्यु हुने गरेको छ ।

प्लानेट टेस्ट प्रालिका जियोटेक्निकल इन्जिनियर दिवाकर ढकाल ६ ठाउँमा ड्रील गरेर चट्टान निकालिएको त्यसको अवस्था परीक्षण गरिएको बताए । ‘शुक्रवारदेखि अध्ययन शुरू गरिएको हो । चट्टानमा प्याल पारेर १ सय १५ मिटर भित्रसम्मको अवस्थाको परीक्षण गरिरहेका छौं । भाइब्रेसन दिएर चट्टानको क्षमता परीक्षण गर्ने काम पनि गरिरहेका छौं,’ ढकालले भने ।

अध्ययनका लागि १५ जना टोलीले काम गरिरहेको छ । त्यहाँको नमूना स्वीजरल्याण्ड लागिने र त्यहाँ अध्ययन भएपछि मात्र सुरूङ मार्गका लागि त्यहाँको भौगोलिक अवस्था उपयुक्त छ वा छैन जानकारी हुनेछ । हालसम्मको करीब ८५ प्रतिशत अध्ययनबाट उक्त क्षेत्रको जमिनमा डेढ मिटर गहिराइसम्म माटो तथा त्यसभन्दा तल स्याण्ड स्ट्रोन र मड स्ट्रोनको मिश्रण भेटिएको इन्जिनियर ढकालले बताए ।

अहिले भइरहेको काम पनि स्विस सरकार विकास सहयोगमार्फत् सुरुङ मार्ग निर्माणको काम भएको हो । सडकको व्यवस्थापनको लागि प्रदेश सरकारले पनि यस वर्ष १० करोड रूपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले सिद्धबाबाको सडक व्यवस्थित गर्नका लागि ५० लाख बजेट विनियोजन गरेको छ । चट्टान परीक्षणपछि गुरूयोजना निर्माणको काम हुनेछ ।

प्रारम्भिक नतिजामा चट्टान कडा खालको भेटिएकाले सुरुङ मार्ग सम्भव हुने बताइएको छ । यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेलसहित ६ वटा बिकल्प दिइएको थियो । संघीय सरकारले सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राखेर गुरूयोजना थालेको हो । स्वीस सरकारले गुरुयोजना निर्माणमा सहयोग गरेको छ ।

प्लानेटका प्रबन्ध निर्देशक दिवाकर खड्काले सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट शुरू हुनेछ । चिडिया खोलाको सुरुङ प्रवेशद्वारमा करीब २० मिटर सिधा प्वाल पारेर चट्टान निकालिएको छ । दोभान नजिकै रामापिथेकपार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ । चट्टानको चुचुरो र सडकबीच भागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ ।

पाल्पाको सिद्धबाबा सडक खण्डमा पछिल्लो ५ वर्षमा भएको दुर्घटनामा करीब ६० जनाको मृत्यु भएको छ । जुनसुकै समयमा पनि चट्टान खस्ने समस्याले सिद्धबाबा सडक असुरक्षित छ । पाल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य तुलबहादुर घर्तीले सुरुङमार्ग निर्माणको विकल्प नभएको बताए ।

‘यो सडक मृत्यु मार्ग बनेको छ । तर समयमा ध्यान पुग्न सकेन, अब ढिलाइ गर्नु हुँदैन,’ उनले भने । सिद्धबाबाको सडकको विकल्प सडक बनाउने योजना समेत आएका छन् । तर ठोस काम भइसकेको छैन । संघीय सरकारले २०७१ सालदेखि सुरुङ मार्ग अध्ययनका लागि बजेट विनियोजन गर्दै आएको थियो । तर काम बनेको थिएन । यसअघि अस्ट्रेलियन कम्पनीले परीक्षणका रुपमा सानो क्षेत्रमा रकनेट राखेको थियो । सो क्षेत्रमा चट्टान खस्न रोकिएपनि विस्तारको पहल भएन ।

संघीय सरकारले सुरुङ मार्ग बनाउन गुरूयोजना बनाउन शुरू गरिरहँदा प्रदेश सरकारले भने चट्टानलाई बेन्चकट काटेर हटाउने सोच बनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top