बुटवलमा कृषि मेला सुरु,  बिकासको मुख्य आधार कृषिः मुख्यमन्त्री पोखरेल

अर्थ माघ २१ २०७५ ekhabarnepal
2


बुटवल,माघ २१ ।
प्रदेश नम्वर ५ को भूमि व्यवस्था, कृषि तथा  सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमवारदेखि बुटवल मण्डपमा कृषि मेला  सुरु भएको छ ।
बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश  सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले प्रदेशको बिकासको पहिलो आधार कृषि र त्यसपछी उद्योग र पर्यटन रहेको बताउनु भयो ।
 कृषिको व्यवसायीकरणका लागि किसानलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्नु पर्छ,  मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
उहाँले कृषि मेला तथा कृषिका कार्यक्रमलाई किसान केन्द्रीत गर्नुपर्ने  बताउँदै मेलामा कृषि वाली प्रतियोगिता तथा कृषि बिशेष कार्यक्रम निरन्तर गर्न सुझाव दिनुभयो ।
त्यस्तै प्रदेश नम्वर ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रमा दिएको अनुदान तथा कृषिको बिबिधिकरण र व्यवसायीकरणमा भएका पछिल्ला प्रयासका सम्वन्धमा जानकारी लिन किसानलाई उपयुक्त अवसर भएको बताउनु भयो ।
 उहाले व्यवसायीहरुको सस्था भएर पनि उद्योग वाणिज्य संघले कृषिको क्षेत्रमा गरेका कार्यक्रम र मेला अनुकरणीय रहेको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले कृषिलाई उद्योगका रुपमा सरकारले स्वीकार गरी बिशेष छुट सहितका कार्यक्रम अघि सार्नु पर्ने बताउनु भयो । संबिधान निर्माण पश्चात् बनेको स्थायी सरकारबाट जनताले आर्थिक रुपान्तरणको ठूलो अपेक्षा गरेको अवस्थामा सरकारले लगानीमैत्री वातावरण श्रृजना गर्नुपर्ने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले किसानलाई सम्मान गर्ने वातावरण बनाउन र किसानले उत्पादन गरेका बस्तुको उपयुक्त मूल्य दिलाउन आगामी बर्षमा बुटवलको मोतिपुरमा उद्योग वाणिज्य संघसंगको सहकार्यमा उपमहानगरपालिकाले यस्ता कृषि मेला आयोजना गर्ने बताउनु भयो ।
पूर्वअध्यक्ष निर्मल प्रसाद लाकौलले प्रबिधिको प्रयोग गरी कृषिको व्यवसायीकरण नगरेसम्म किसानले सम्मान पाउने र मुलुकको आर्थिक समृद्धि सम्भव छैन भन्ने सोचेर २०६२ सालमा कृषि मेला आयोजना गरेको बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक खिम बहादुर हमालको अध्यक्षतामा भएको उद्घाटनमा बरिष्ठ उपाध्यक्ष उज्जवल कसजू, महासचिव दिनेश प्रसाद श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
मेलामा गाउका उत्पादनदेखि कृषिका प्रबिधिका एक सय २६ स्टलको सहभागिता रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले जानकारी दिनुभयो ।
मेलाका अवसरमा ६ दिनसम्म बुटवलमण्डपमा कृषि केन्द्रित प्रतियोगिता, अन्तरक्रिया गोष्ठि र सचेतनाका कार्यक्रमहरु पनि आयोजना गरीदै छ ।
मेलामा प्रदेश नम्वर ५ को उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बिउबिजन कार्यक्रम प्रबद्र्धकको भूमिकामा रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top