प्रदेश ५ कोआन्तरिक राजस्व संकलन:भैरहवाले भेटाउन सकेन,बुटवलले भेटायो

अर्थ माघ १७ २०७५ ekhabarnepal
564565

बुटवल माघ १७,
 दुई मुख्य सहर भैरहवा र बुटवल मध्ये बुटवलले चालू आर्थिक वर्ष २०७५-७६ को ६ महिनाको आन्तरिक राजस्व संकलन लक्ष्यअनुसार गर्न सकेको छ भने भैरहवाले लक्ष्य भेटाउन सकेन ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलको आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । बुटवल कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुससम्म) ३ अर्ब ८९ करोड ५० लाख रूपैयाँ लक्ष्य रहेकोमा ४ अर्ब २ करोड ६१ लख रूपैयाँ संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए । प्रमुख कर अधिकृत ढकालका अनुसार कार्यालयले सो अवधिमा अन्तःशुल्कतर्फ २ अर्ब ५६ करोड, आयकरतर्फ ८२ करोड ७७ लाख, मूल्य अभिवृद्धिकरतर्फ ४७ करोड १३ लाख र ब्याजकरमा ८ करोड ९४ लाख संकलन गरेको छ ।


करदाता शिक्षा, आमजनतामा करबारे सचेतना जानकारी र कर तिर्नु पर्छ भन्ने धारणालगायत कुराको प्रभावकारिताका कारण लक्ष्य अनुरूप राजस्व संकलन गर्न सफल भएको ढकालले बताए । बुटवल कार्यालयको क्षेत्र बुटवल उपमहानगरसहित, तिलोत्तमा नगरको वडा नम्बर १ देखि ४ सम्मका क्षेत्र रहेका छन् भने देवदह नगरपालिका साथै नवलपरासीको सुनवल पश्चिम क्षेत्र (बुटवलतर्फ) समेत रहेको छ । उता भैरहवा कार्यालयले भने लक्ष्य भेटाउन सकेन् । आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा ३ अर्ब ४२ करोड ३६ लाख ८१ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।


कार्यालयले सो अवधिमा अन्तःशुल्कतर्फ १ अर्ब ९१ करोड ८७ लाख ७१ हजार रूपैयाँ, आय करतर्फ ८९ करोड ११ लाख ९२ हजार रूपैयाँ, मूल्य अभिवृद्धिकर (भ्याट) तर्फ ५२ करोड ९२ लाख ९३ हजार रूपैयाँ, घर बहाल करतर्फ (अघिल्लो वर्षको) ३ करोड ६५ लाख ६८ हजार, ब्याजकरतर्फ ३ करोड ५४ लाख ७७ हजार रूपैयाँ र स्वास्थ्य, शिक्षा सेवातर्फ अघिल्लो वर्षको बक्यौतावापत क्रमशः ६० लाख ७९ हजार र ३६ लाख २६ हजार रूपैयाँ संकलन भएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत देवीराम भण्डारीले बताए ।यो कार्यालयलाई आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षमा ११ अर्ब ३० करोड २२ लाख ४७ हजार लक्ष्य निर्धारण गरेको छ । ६ महिनाका लागि कुल लक्ष्य ४ अर्ब ९२ करोड ७७ लाख ६५ हजार रहेकोमा ३ अर्ब ४२ करोड ३६ लाख ८१ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत भण्डारीले जनाए ।
६ महिनामा लक्ष्यको करिब ७० प्रतिशत (६९.४८) राजस्व संकलन भएको छ । आयकरमा लक्ष्यभन्दा १२ प्रतिशत, ब्याजकरमा १६ प्रतिशत बढी संकलन भएको छ भने भ्याटतर्फ लक्ष्यको ८८ प्रतिशत र अन्तःशुल्कमा करिब ५५ प्रतिशत संकलन भएको छ ।


अन्तःशुल्कबाट लक्ष्यअनुसार संकलन नहुँदा राजस्व कम संकलन भएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ अर्बभन्दा बढी अन्तःशुल्क तिर्ने मदिरा कम्पनीले अहिले यही अबधिमा जम्मा १७ करोड रूपैयाँ तिरेका छन् । मदिराबाट प्राप्त हुने अन्तःशुल्ककै कारण राजस्व कम भएको कार्यालयको भनाइ छ । त्यस्तै भन्सारबाट आयात कम भएको, बजारमा आर्थिक कारोबारमा कमी, केही करदाताहरू ठूला करदातामा गएका र लक्ष्यसमेत विगतको भन्दा बढीनै भएकाले पनि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको प्रमुख कर अधिकृत भण्डारीको भनाइ छ । भैरहवा क्षेत्रले सिद्धार्थनगर नगरपालिका, रामग्राम नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा ५ देखि माथि सबै तथा नवलपरासी पश्चिमका गाउँपालिका र रूपन्देहीका मर्चवार, धकधई , अमुवा, छपियासमेत कार्यक्षेत्र रहेको र पुस मसान्तसम्म ५७ हजार ६ सय ४९ सेवाग्राही छन् ।
(कारोबार दैनिक)

प्राप्त प्रतिकृयाहरू

To Top