नेपाल-जापान हवाई सम्झाैता 

समाज पौष २६ २०७५ ekhabarnepal
1547039161japan n nepal


काठमाडौं, पुस २५
 नेपाल र जापानबीच २६ वर्ष अघि भएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्रहरुको आदानप्रदान (एक्सचेञ्ज अफ नोट्स) मा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानका विदेशमन्त्री तारो कोनोले बुधबार साँझ होटल याक एण्ड यतिमा पत्रकार सम्मेलनमार्फत उक्त पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपूर्व दुई मुलुकको मन्त्रीस्तरीय बैठक बसेको थियो।

यो सम्झौतासँगै अब नेपालले जापानका लागि सातामा १४ वटा सीधा उडान भर्न पाउने छ। सन् १९९३ मा पहिलो पटक नेपाल र जापानबीच हवाई सम्झौता भएको थियो भने त्यसलाई नवीकरण गर्ने विषयमा गत असारमा दुई मुलुकबीच सहमति भएको थियो।

त्यसलगत्तै परराष्ट्रमन्त्री ज्ञवालीले हवाई सेवा सम्बन्धी सम्झौता संशोधन लागि पत्रहरुको आदानप्रदानले दुई मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

जपानका विदेशमन्त्री तारो कोनोले दुई मुलुकको सम्झौताअनुसार नेपाल वायु सेवा निगमलाई छिटो भन्दा छिटो उडान भर्न अनरोध गर्दै त्यसका लागि आफ्नो मुुलुकले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

सात वर्ष पछि नेपाल भ्रमणमा आएका र परराष्ट्रमन्त्री ज्ञवालीसँग दुई पटक प्रत्यक्ष भेटवार्ता र छलफल गरिसकेका कोनोले नेपाल र जापानले १९९६ मा कुटनीतिक सम्बन्ध स्थापना गरेयता आर्थिक सहयोग, सांस्कृतिक, पर्यटन र जनस्थरीय सम्बन्ध लगायत विभिन्न क्षेत्रको आदानप्रदान मार्फत दुई मुलुकबीचको मैत्री सम्बन्ध स्थापित गर्दै आएको जानकारी दिए।

पछिल्ला वर्षहरुमा दुई मुलुकका नागरिकहरुको आवातजावत निकै बाक्लिएको भन्दै उनले सन् २०१७ मा मात्रै जापान भ्रमण गर्ने नेपालीको संख्या ३९ हजार र नेपाल भ्रमण गर्ने जापानका नागरिकको संख्या २७ हजार पुगेको तथ्याङ्कसमेत प्रस्तुत गरेका थिए।

उनले भने, ‘व्यक्ति–व्यक्तिबीचको सम्बन्ध दुई मुलुकको सम्बन्धको मुख्य आधार हो। हामीले भर्खरै दुई मुलुकबीच हवाई सम्झौताको संशोधनका लागि पत्रहरुको आदानप्रदानमा हस्ताक्षर गरेका छौँ। नेपाल वायु सेवा निगमको प्रत्यक्ष उडान चाडो भन्दा चाडो सुचारु होस्। त्यसका लागि हामी नेपाल सरकारलाई सहयोग र समन्वय गर्दै जाने छौँ।’

द्विपक्षीय परामर्श बैठक आयोजना गर्ने
नेपाल र जापानका मन्त्रालयहरुबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्ने सम्बन्धी सहयोगपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन्।

जापानका विदेशमन्त्री कोनोले जापान र नेपालका मन्त्रालयहरुबीच द्विपक्षीय परामर्श बैठक अयाोजना सम्बन्धी सहयोग पत्रमा हस्ताक्षर हुनुलाई उपलब्धी ठानेका छन्।

दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बनाउन, विकासमा साझेदारी गर्न र क्षेत्रीय अवस्थाबारे आआफ्ना विचार आदाप्रदान गर्न पाउँदा खुसी लागेको उनले बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले यी दुई सहयोगपत्रबाट दुवै देशहरुलाई सहयोगका कार्यविधिहरुमा छलफल गर्न, द्विपक्षीय सम्बन्धका सबै पक्षहरुको समिक्षा गर्न, सहयोगका नयाँ क्षेत्रहरु प्हिचान गर्न तथा साझा चासोका क्षेत्रीय एवं अन्तर्राष्ट्रिय विषयहरुमा आदानप्रदान गर्न एक मञ्च प्राप्त भएको बताएका छन्।

उनले जापानका आफ्ना समकक्षी कोनो नेतृत्वको प्रतिनिधिमण्डको बैठकमा नेपाल–जापान सम्बन्धका सबै पक्षहरु त्था साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रि विषयहरुमा बृहत एवं फलदायी छलफल भएको बताए।

उनले भने, ‘हामी दुई देशहरुबीच घनिष्ट, सौहार्द तथा सहयोगात्मक सम्बन्ध रहेको छ। हामीले जापानसँगको सम्बन्धलाई ठूलो महत्व दिँदै आएका छौँ। जापान नेपालको एक प्रमुख विकास साझेदार तथा नेपालमा लगानी र पर्यटनको एक प्रमुख श्रोत समेत रहेको छ।’

मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मुल नारा कार्यान्वयनका लागि आर्थिक रुपान्तरण गर्ने वर्तमान सरकारको प्रमुख एजेण्डा भएको सुनाएका थिए।

यस्तै सरकारले जतिसक्दो चाडो अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको समेत मन्त्री ज्ञवालीले बैठकमा जानकारी गराएको थिए।

मन्त्री ज्ञवालीले बैठकमा पूर्वाधार निर्माण, कनेक्टिभिटी तथा उर्जा क्षेत्रहरुमा द्धिपक्षीय सहयोगका बारेमा छलफल भएको बताए।
यसका साथै नेपालका प्राथमिकताका क्षेत्रहरुमा जापानी लगानी तथा आगामी मार्चमा हुने लगानी सम्मेलन बढी भन्दा बढी लगानीकर्ता तथा उद्यमीहरुको सहभागिताका बारेमा समेत छलफल गरेको उनले बताए।

दुई दिने नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री कोनोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top