सरकारी मर्यादाक्रम हेरफेर गर्न गृहकार्य सुरु

राजनीति पौष २२ २०७५ ekhabarnepal
87694786789

काठमाडौं पुस २२,
 सरकारले जनप्रतिनीधि र कर्मचारीको नयाँ मर्यादाक्रमको गृहकार्य सुरुगरेको छ । मन्त्रीपरिषद् बैठकमा प्रस्ताव गरिएको मर्यादाक्रममा जनप्रतिनिधिहरुलाई माथि राखेर सरकारी मर्यादाक्रम हेरफेर गर्न लागिएको बताईन्छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकमा नयाँ मर्यादाक्रमबारे गृहकार्य गर्ने जिम्मा सञ्चारमन्त्री गोकुल बास्कोटा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई दिइएको बताईन्छ ।सरकारले २०७४ सालको स्थानीय तह निर्वाचनपछि राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो ।उक्त मर्यादाक्रममा  गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएको भन्दै असन्तोष भइरहेको छ ।

उक्त मर्यादाक्रममा नगरपालिकाका मेयरलाई सहसचिवभन्दा तल राखिएको छ । मर्यादाक्रममा असहमति जनाउँदै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत बुझाएका थिए । उनीहरुले मर्यादाक्रम निर्धारण गर्दा कर्मचारीतन्त्र हाबी भएको भन्दै सरकारलाई हेरफेर गर्न माग गरेका छन् ।

नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले इलेक्टेड र सेलेक्टेडहरुको अलगअलग मर्यादाक्रम निर्धारण हुनुपर्ने भन्दै राजनीतिज्ञलाई सचिव र उपसचिवभन्दा तल पारेर बनाइएको मर्यादाक्रम स्वीकार्य नहुने भन्दै संघको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए ।

हालै सम्पन्न अन्तर प्रदेश समन्वय परिषद बैठकमा पनि मुख्यमन्त्रीहरुले मर्यादाक्रम हेरफेरको माग गरेका थिए । मुख्यमन्त्री, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरुको मर्यादाक्रमको कुरा उठ्दा प्रदेशसभा सदस्यहरुलाई सहसचिव सरह राखिएको भन्दै विरोध भएको थियो ।सञ्चारमन्त्री बास्कोटा र मुख्यसचिव रेग्मीले केही विषय मिलाएपछि अबको मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम पारित हुने बताइएको छ ।

स्रोतका अनुशार संशोधनपछि मुख्यमन्त्रीहरुको मर्यादाक्रम संघीय सरकारका मन्त्री सरह हुनेछ । अहिले पनि सोही व्यवस्था रहेकोमा अब सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अन्य ठाउँमा संघीय सरकारमा मन्त्री माथि रहनेछन् ।त्यस्तै प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य सरह बनाउन प्रस्ताव गरिएको छ । यसअघि नेपाल सरकारका मुख्य सचिवभन्दा तल राखिएका प्रदेश मन्त्रीसँगै प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम पनि मुख्य सचिव र सचिवहरुभन्दा माथि राखिने तयारी छ ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयरको मर्यादाक्रम पनि मुख्य सचिवभन्दा माथि बनाइने प्रस्ताव छ । संघीय राजधानी भएका महानगरका मेयरको मर्यादाक्रम मन्त्री सरह हुने गरेको भन्दै केही मन्त्रीले महानगरका मेयरलाई राज्यमन्त्री सरहको मर्यादाक्रममा राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सहमति नजुटेपछि काठमाडौंका मेयरको मर्यादाक्रम सांसदहरुको सरह हुने छ ।

काठमाडौं बाहेक अन्य महानगरपालिकाका मेयरको मर्यादाक्रम भने मुख्य सचिवभन्दा मुनी नै हुनेछ । काठमाडौं महानगरको प्रशासकीय अधिकृत नै सरकारको सचिव हुने भएकाले मेयरको मर्यादाक्रम माथि पार्न लागिएको हो  । अब हुने मर्यादाक्रममा नगरपालिका मेयरको मर्यादाक्रम सहसचिव भन्दा माथि बनाउने तयारी छ ।

गाउँपालिका अध्यक्षको मर्यादाक्रम उपसचिवभन्दा माथि प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको मर्यादाक्रम महानगरपालिकाका मेयर सरह हुनेछ ।मर्यादाक्रमको कारण कतिपय तहमा कर्मचारी जनप्रतिनीधिभन्दा माथि देखिएकाले जनमतको सम्मान र निर्णयमा जनप्रतिनीधिको अधिकार स्थापित गर्न खोजिएको बताईन्छ । 

प्राप्त प्रतिकृयाहरू

To Top