नारायणगढ-वुटवल सडक पाँच वर्षभित्र विग्रिए कम्पनीनै जिम्मेवार

समाज पौष १९ २०७५ ekhabarnepal
Sadak 5a33171772f610.00128445


काठमाडौं। नेपालमा अधिकांश सडक निर्माण गरेको केही दिन नपुग्दै कालोपत्रे उप्किन थाल्छ। सडकमा खाल्डाखुल्डी पर्न थाल्छ।

प्रचलित नियमानुसार सडक र पुल निर्माण गरेपछि एक बर्षसम्म भत्किए/विग्रिए निर्माण कम्पनीले मर्मत सम्भार गर्नुपर्छ।यसका लागि डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी) १ बर्ष राखिएको छ। सडक भत्किएको अध्ययन गरेर निर्माण व्यवसायीबाट मर्मत सम्भार गराउने नियम छ।यदि निर्माण कम्पनीले मर्मत सम्भार गर्न नमाने बैक ग्यारेण्टी बापत राखिएको पाँच प्रतिशत रकम जफत गरेर तेस्रो कम्पनीमार्फत काम गराउनुपर्छ।

अहिले ठेक्का लगाउने निकायले सडक भत्किनुको कारणबारे अध्ययन नै गर्दैनन। अध्ययन नै नगरि एक वर्ष वित्छ।निर्माण कम्पनी उम्किन्छन्।सडकको वेहाल हुन्छ।सडक विभागका उपमहानिर्देशक मुक्ति गौतमका अनुसार अहिलेसम्म एक बर्षको डिएलपी राखेर सम्झौंता हुन्छ। पुल र सडक दुवैमा यही नियम लागु हुन्छ।पुलको हकमा डिजाइन एण्ड विल्ड प्रक्रियाद्धारा सडक निर्माण गरेमा डिलएपी पाँच बर्षको हुन्छ।

तर नेपालमा एउटा सडक यस्तो निर्माण हुँदैछ।जसको निर्माण सम्पन्न गरेको पाँचबर्षसम्म मर्मत सम्भारको जिम्मा निर्माण कम्पनीले लिनुपर्नेछ।आयोजना आसपासमा क्याम्प वा कार्यालय नै राखेर सडकको रेखदेख गर्नुपर्नेछ। महेन्द्रराजमार्ग अन्तर्गतको नारायणगढ-बुटवल सडक निर्माणमा यो प्रावधान राखिँदैछ। गुणस्तरीय सडक निर्माणका लागि यो कडा प्रावधान राखिएको हो।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख सरोजकुमार प्रधानका अनुसार दुर्इ साताभित्रै चिनियाँ कम्पनीसँग सम्झौैता गर्न लागिएको हो। उनका अनुसार सडक विस्तारका लागि सबैभन्दा कम कवोल गर्ने चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग सम्झौता हुँदैछ। नारायणगढ-बुटवल सडकलाई दुर्इवटा प्याकेज बनाएर निर्माण गर्न लागिएको छ। दुईवटै प्याकेज निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइनेछ।

चिनियाँ कम्पनीले प्याकेज-१को ठेक्का  ९ अर्ब १३ करोड रुपैयाँमा र प्याकेज दुईमा ७ अर्ब ८६ करोड रुपैयाँमा गर्न कवोल गरेको थियो। करिव १ सय १५ किलोमिटर सडकमध्ये पहिलो प्याकेज नारायणगढदेखि बुटवलसम्म करिव ६५ किलोमिटर छ। दोस्रो प्याकेज बाँकी दाउन्नेबाट बुटवलसम्म छ।

अहिले भइरहेको सडकलाई स्तरोन्नती गरेर चार लेनमा विस्तार गर्न लागिएको हो। आयोजनाका अनुसार सडकवीचमा ग्रिनरी मेडियन निर्माण गरिनेछ। दुवैतिर ७/७ मिटर क्यारिज वे हुनेछ।एउटा लेन ३.५/३.५ मिटरको हुनेछ। क्यारिज वे बाहिर २.५/२.५ मिटरको सोल्डर निर्माण हुनेछ।जसमा गाडी विग्रिए वा कुनै समस्या आए साइड लगाएर मर्मत गर्न सकिन्छ।

सडक विभागका अनुसार बस्ती भएका ठाउँमा भने थप ६/६ मिटरको साइड लेन समेत निर्माण हुनेछन्।आसपासका बस्तीहरुमा जाने गाडी मेन लेनमा नआइ सहायक लेनबाट चलाउन सकिनेछ। करिव ४६ किलोमिटरमा यस्तो साइड लेन निर्माण हुनेछ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार दाउन्नेको उकालोमा सडक तीन लेनको मात्रै निर्माण गर्न लागिएको छ।दाउन्नेको प्राकृतिक अवस्था र भूगोल अनुसार चारलेनमा सडक विस्तार गर्न नसकिने अध्ययन देखाएको छ।करिव १२ किलोमिटर खण्ड सडक तीनलेनको मात्रै हुने छ।जसमा दुर्इ लेन उकालो चढ्न र एक लेन ओरालो झर्नका लागि हुनेछ ।

एसियाली विकास बैक (एडीबी)को करिव १६ अर्ब ऋण सहयोगमा विस्तार हुन लागेको यो सडक क्यानेडियन कम्पनी एमएमएस ग्रुपले डिजाइन तयार पारेको हो।

प्राप्त प्रतिकृयाहरू

To Top