नेकपा कार्यदलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्दै

राजनीति पौष १६ २०७५ ekhabarnepal
378590189nekapa0 624 6

काठमाडौं  ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई बालुवाटार डाकेका छन् ।
शुक्रबार सकिएको स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कामका सन्दर्भमा आवश्यक निर्देशन दिन दिउँसो ३ बजे बालुवाटार बोलाइएको बुझिएको छ ।पुस मसान्तभित्र एकीकरण प्रक्रिया सक्ने गरी नेकपाले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल,  वर्षमान पुन रघुवीर महासेठ सदस्य रहेका छन् ।

नेकपामा कार्यदल गठन नौलो अभ्यास होइन, यो पुरानोकै निरन्तरता हो । यसअघि कात्तिक ८ गते पनि एकीकरणकै काम टुंगो लगाउन महासचिव पौडेल र रामबहादुर थापा वादल दुई सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो । नवगठित कार्यदलले जिल्ला र स्थानीय तहको एकीकरणको बाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार पार्ने अधिकार पाएको योगेश भट्टराई बताउँछन् ।यसअघि नै सचिवालयमा समझदारी भए मुताविक वरीयता, योग्यता क्षमता र साविक एमाले र माओवादी केन्द्र दुवै पार्टीको सन्तुलनलाई आधार बनाएर एकीकरणको प्रस्ताव तयार पारिने नेताहरूले जानकारी दिएको छन् । कार्यदललाई पुस मसान्तभित्र प्रस्ताव तयार पार्न समय निर्धारण गरिएको छ ।


कार्यदलले पोलिट्ब्युरो गठनका सदस्यहरूको नाम सुझाव दिन सक्नेछ भने, केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने सन्दर्भमा समेत गृहकार्य गर्ने नेताहरूले जानकारी दिएका छन् ।
त्यस्तै जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेर केन्द्रीय सदस्यहरूको कार्यविभाजनको मोटामोटी खाका तयार पार्नेछ । यस्तै जिल्ला अध्यक्ष र सचिवको कार्यविभाजन पनि यही कार्यदलले टुंग्याउने क्षेत्राधिकार तोकिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top