वैदेशिक ज्ञान शीपलाई सदुपयोग गर्न सरकार समक्ष माग

समाज पौष १५ २०७५ ekhabarnepal
Malesiya


काठमाडौँ,पुस १५ 
मलेसियामा रोजगारी गरेर फर्किएका युवाहरुले आगामी मंगलबार राष्ट्रिय भेला गर्ने भएका छन्। 
देशभित्रै रोजगारीको सम्भावना देखिन थालेपछि वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित हुन थालेका हुन्। यसबारे उनीहरुले शनिबार राजधानीमा एक कार्यक्रम गरी जानकारी गराएका छन्। उनीहरुले वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएका नेपालीहरुलाई एकीकृत गरी सामुहिक प्रयासहरुको थालनी गर्ने बताएका छन्।

वैदेशिक रोजगारीमा धेरै पीडा सहेर पनि त्यहाँ हासिल गरेको ज्ञान शीपलाई सदुपयोग गर्न सरकारले ल्याउने रोजगारीका कार्यक्रममा सहभागी गराउन उनीहरुको माग छ। सरकारले ल्याएको सहुलियत कर्जा लगायतका कार्यक्रममा अवसर पाए यसअघि फर्किएका र अब फर्किने युवालाई एकीकृत गर्ने अभियन्ता रामचन्द्र नेपालले बताएका छन्।

विदेशबाट फर्किआएकाहरु र उनीहरुका परिवारमा वित्तीय साक्षरताको अभिवृद्धि गर्न र कमाएको धनको सही सदुपयोग गरी राष्ट्र निर्माणमा योगदान गर्न आफूहरु पनि तयार रहेको उनीहरुको भनाई छ।

विदेशमा रहेका र विदेशबाट फर्किएकाहरुबीच विभिन्न सामुहिक लगानीहरुको सम्भावनाहरुको खोजी गर्न र सरकारले अघि सारेको सहुलियत दरको ऋण कसरी प्राप्त गर्ने र त्यसलाई सही सदुपयोगका लागि सचेतना जगाउन आवश्यक रहेको जनाउँदै यसका लागि काम गर्न इच्छा देखाएका छन्।

यस्तै उनीहरुले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनको लागि संघ, प्रदेश र स्थानीय सरकारहरुलाई नीतिगत तथा कार्यक्रमगत सुझावहरु उपलब्ध गराउने, विदेशबाट फर्किएकाहरुको अनुभव, ज्ञान, शीप र लगानीलाई देश विकासमा लगाउनका लागि रणनीतिक बहसमार्फत संघ, प्रदेश र स्थानिय सरकारहरुलाई सुझावहरु पेश गर्ने बताएका छन्।

नेपालको संधिवान २०७२ को धारा ३३ मा रोजगारीको हक अन्तरगत प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनी व्यवस्था गरिएको छ। विदेशी भूमिमा रगत र पसिना बगाएर घर परिवारमा बिप्रेषण पठाई द्वन्द्व र कठिन राजनीतिक अवस्थामा देशलाई असफल हुनबाट आप्रवासी कामदारहरुले गरेको योगदानको सम्मान गर्न माग गरेका छन्।

नेपालीले काम गर्ने मुख्य गन्तव्यहरुमा तुलनात्मक रुपमा अरु देशका कामदारहरुको भन्दा नेपाली श्रमिकले कम सेवा सुविधामा जोखिमपूर्ण काम गर्नु परेको उनीहरुले बताएका छन्। उनीहरु भन्छन्, ‘एकातिर विदेशी भूमिमा रगत र पसिना बग्दो छ, तर देशको जमीन बाँझो छ र देश बनाउने युवाको खाँचो छ, हामी यसका लागि हातेमालो गर्न तयार छौँ।’

मलेसियामा रोजगारी गरेर फर्किएका युवाहरुले आउँदो मंगलबार राजधानीमा एक कार्यक्रम गरी संगठित हुने र देशभित्रकै रोजगारीका लागि सरकारसँग हातेमालो गर्ने अभियान थाल्ने बताएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top