साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

अर्थ पौष १४ २०७५ ekhabarnepal
Sana kisan jpg


बुटवल, पुष १५
साना किसान कृषि सहकारी संस्था लि. तिलोत्तमा १४ टिकुलीगढ रुपन्देहीले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अनरजीत थारुको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र साना किसान कृषि विकास बैंक लघुवित्तीय संस्थाकी बरिष्ठ साहायक सुचिता घिमिरेको विशिष्ठ आतिथ्यतामा संस्थाको प्रधान कार्यालयमा टिकुलीगढमा सम्पन्न गरेको हो । 
संस्थाकी प्रवन्धक रिता घिमिरेले सञ्चालन गरेको उक्त साधारण स्वागत मन्तव्य राख्दै उपाध्यक्ष लिला देवी छन्तेलले सहकारीले साना किसानहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले हजारौं जनताको जिवन शैलीमा परिवर्तन ल्याउने आधारलाई सबै मिलेर अगाडी बढाउनु पर्ने धारणा राखिन । त्यसैगरी बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समीति संयोजक तुल्सीराम पाण्डेले १२ प्रतिशत ब्याजदरमा कर्जा लिएर १४ प्रतिशतमा लगानी गर्नुले संस्था सञ्चालनमा आर्थिक अभावको अवस्था सृजना हुन सक्ने औल्याउँदै कम ब्याजदरमा कर्जा लिएर सहुलियतमा किसानहरुलाई कर्जा प्रवाह गर्ने व्यवस्थाको खोजी गर्नु पर्ने बताए । 
त्यसैगरी विशिष्ठ अतिथी अयोध्या थारुले सहकारी हाम्रो हो भनेर किसानहरुको सहकारीप्रतिको मानोकांक्षामा खुशी प्रकट गर्दै सहकारी र सहकार्यले जति ठुला कामहरुपनि सहज ढंगले गर्न सकिने धारणा राख्दै सबैले सहकारी र सहकार्यको बाटो अवलम्वन गरी आयआर्जन सँग जोडिएर अगाडी बढ्नुपर्ने धारणा राखे ।  प्रमुख अतिथी जागेश्वरी चौधरीले किसानहरुले जुन उद्देश्य प्राप्तीको लागि कर्जा लिएको हो सो उद्देश्यमा लगानी गर्नुपर्नेमा जोड दिईन । उनले कर्जा लिएपछि आयमूलक क्षेत्रमा लगाउन सकिएन भने लिएको कर्जापनि तिर्न सक्ने अवस्था नरहने बताउँदै आयआर्जन बढाउने कार्यहरु जोड दिनुपर्ने बताईन । 
कार्यक्रममा अध्यक्ष अनरजीत थारुले नेपाल कृषि प्रधान देश भएको र ७० प्रतिशत जनताहरु कृषि पेशामै निर्भर रहेकोले कृषि र कृषकहरुको जिवनस्तर उकास्न सहकार्य गर्ने उद्देश्यले सहकारी स्थापना भएको बताउँदै आर्थिक समृद्धिको लागि आधुनिक कृषि प्रणाली प्रमुख श्रोत भएको बताए । उनले ग्रामिण क्षेत्रमा विद्यमान गरिबी, बेरोजगारी समस्यालाई न्यूनिकरण गर्दै साना तथा भूमिहीन किसानहरुको आर्थिक, सामाजिक संस्कृतिलाई रुपान्तरण गरी आर्थिक समृद्धि ल्याउनु प्रमुख उद्देश्य भएकोले त्यसमा देखिएका कमीकमजोरीमा घचघचाएर सुधारको लागि सुझाव दिन आग्रह गरे । 
२०३४ सालमा कृषि विकास बैंकको मातहतमा सञ्चालन भएको सहकारी २०६० चैतमा पूर्ण स्वामित्व लिई सञ्चालन भएको आएको हो । कठिन परिस्थितीलाई कृषकको जिवनस्तर सँग जोडेर सञ्चालित सहकारीका प्रधान कार्यालय सहित चारवटा कार्यालयहरुबाट सेवा प्रवाह गरेको छ । जसमा चार सय ४० समुहका २९ सय ४० कृषकहरु लाभान्वित भएका छन्  । एक करोड ८६ लाख सेयर पुँजी, १२ करोड ७३ लाख निक्षेप संकलन गरी २४ करोड ९५ लाख कर्जा प्रवाह गरेको संस्थाले दश करोड ६५ लाख ऋण लिएर किसानहरुमा थप कर्जा प्रवाह समेत गरेकोे छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top