सरकारले ३ सय वटा विद्युतीय बस खरिद गर्ने  

राजनीति पौष १२ २०७५ ekhabarnepal
Rss


काठमाडौं पुस १२ 
 सरकारले आफ्नै लगानीमा कम्तीमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक प्रयोजनका लागि ३ सय वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।  
मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको ‘सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ । 
यस्तै, जोखिमयुक्त वस्ती स्थानान्तरण तथा एकीकृत वस्ती विकास र जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, स्वीकृत गरेको मन्त्री बास्कोटाले बताउनुभयो । 
सरकारले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सको राजदूतमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । मन्त्रालयका सहसचिवहरू गणेशप्रसाद ढकाललाई थाईल्याण्ड, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधि र सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूत सिफारिस गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।    

प्राप्त प्रतिकृयाहरू

To Top