लिभरपुलसँगको हारपछि युनाइटेडमा माउरिन्होको भविष्य खतरा !

खेल पौष २ २०७५ ekhabarnepal
78758456478

एजेन्सी । इङलिस प्रिमियर लिगको खेलमा गए राती चिर प्रतिद्वन्द्वी लिभरपुलसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड सिजनको महत्वपूर्ण समयमा अंकतालिकामा निक्कै तल सीमित भएको छ । डिसेम्बरको मध्यमा युनाइटेड इतिहासकै सबभन्दा कमजोर अवस्थामा रहँदा पूर्व खेलाडी तथा प्रशिक्षकहरुले ओल्ड ट्राफोर्डमा प्रशिक्षक जोजे माउरिन्होको भविष्य खतरानजिक पुगेको अनुमान लगाएका छन् ।
तीन वर्षअघि २०१५ को डिसेम्बर १७ मा माउरिन्होलाई चेल्सीले बर्खास्त गरेको थियो । स्टामफोर्ड ब्रिजबाट बर्खास्तगीमा परेको वर्षगाँठ आउन दुई दिन बाँकी रहँदा उनले फेरी एक पटक प्रिमियर लिगमा निर्दयी नतिजा (लिभरपुलसँग हार)को सिकार बन्नु परेको छ । प्रिमियर लिगको सबैभन्दा खाँटी प्रतिद्वन्द्वीसँग हार भोगेपछि फेरी माउरिन्होले त्यस्तै अर्को झट्का बेहोर्नु पर्ने त होइन भन्ने चासो स्वभाविक रुपमा बढ्न थालेको छ ।
युनाइटेड तथा इङल्यान्डका पूर्व रक्षक ग्यारी नेभिलले स्काई स्पोर्टसमा भनेका छन्, ‘मेरो विचारमा त्यसो हुन सक्छ । ओल्ड ट्राफोर्डमा पनि माउरिन्होले जागिर गुमाउनु पर्न सक्छ । मेरो विचारमा प्रदर्शनको समग्र मुल्यांकन गर्नका लागि सिजनको अन्तिमसम्म कुर्नुपर्छ । तर बोर्डको सोच फरक हुन्छ । बोर्डले अपत्यारिलो निर्णय गर्न सक्छ । प्रिसिजन भ्रमणबाट फर्किँदा माउरिन्हो नियन्त्रणवाहिर थिए । क्लबमा उनीभन्दा माथिको कसैले पनि उनलाई नेतृत्व गर्न सकिरहेको थिएन । उनीसँग के भन्ने, प्रत्येक पत्रकार सम्मेलनमा के जवाफ दिने भन्ने कसैलाई थाहा थिएन । त्यसको मूल्य अहिले चुकाउनु परिरहेको छ ।’


नेभिलको संकेत सिजन सुरु हुनुपूर्व सरुवा बजारमा माउरिन्होलाई उनको इच्छाअनुसार खेलाडी किन्ने वातावरण क्लबको बोर्डले नदिएकोमा थियो । युनाइटेड गए राती एन्फिल्डमा लिभरपुलसँग ३–१ को नतिजामा पराजित हुँदा माउरिन्होको टोली पूरै निरिह देखिएको थियो । यो नतिजापछि अंकतालिकाको छैटौं स्थानमा सिमित भएको युनाइटेड शीर्ष स्थानको लिभरपुलभन्दा १९ अंकले पछि परिसकेको छ ।
न्युक्यासल तथा इङल्यान्डका पूर्व स्ट्राइकर एलान सिएररले खेलको कमेन्ट्री गर्ने क्रममा भनेका थिए,  ‘यतिखेर म्यानचेस्टर युनाइटेडको टिममा डेविड डी हियालेमात्र आफ्नो क्षमताअनुसार प्रदर्शन गरिरहेका छन् । यो क्लबमा केही परिवर्तन गर्नैपर्छ । क्लब व्यवस्थापनले की प्रशिक्षकलाई विदा गर्नुपर्छ, होइन भने उनलाई उनको चाहनाअनुसारका खेलाडी लिनदिनुपर्छ । यो टिममा धेरै काम गर्नुपर्छ, किनकी त्यहाँ क्षमताको निक्कै अभाव छ ।’
‘क्लब व्यवस्थापनले सिजनअघि माउरिन्होलाई साथ दिएको थिएन । माउरिन्होले सरुवा बजारबाट केही खेलाडी किन्न खोजेका थिए, तर पाएनन,’ सिएररले थपे, ‘खराव नतिजामा सधै प्रशिक्षकको गल्ती हुँदैन । मेरो विचारमा युनाइटेडका धेरै खेलाडीले पनि आज मैदानबाट निस्कँदा मैले राम्रो गरेको थिएँ भन्ने सोच्न सकेनन् होला ।’


युनाइटेडका पूर्व कप्तान रोए किन पनि आइतबार टोलीको प्रदर्शनमा निक्कै बेखुसी थिए । ‘आज कोही मानिस चन्द्रमाबाट एक्कासी झर्यो र उसलाई फुटबलवारे केही जानकारी छैन भने उसले युनाइटेड प्रिमियर लिगको एउटा औसत टिम हो भन्नेछ । उसले त्योभन्दा बढि आजको खेलमा केही देख्न पाएन,’ किनले भने, ‘यिनीहरु १०८० को दशकको म्यानचेस्टर युनाइटेड जस्तै देखिए ।’  लेस्टर सिटी एवं वेल्सका पूर्व मिडफिल्डर रोबी साभेजले युनाइटेड अन्यन्तै कमजोर र दयनीय देखिएको प्रतिक्रिया दिए । ‘युनाइटेडलाई कमजोर प्रदर्शनका लागि कुनै पनि बहानामा क्षमा दिन मिल्दैन । उनीहरुले खेलाडीमा ठूलो खर्च गरेका छन् । बेन्चमै उनीहरुसँग १० करोड पाउन्डभन्दा बढिका खेलाडी छन् । यस्तो खर्चिलो टिमले गरेको यति कमजोर प्रदर्शन कुनै पनि हालतमा स्विकार्य हुँदैन । अहिलेको अवस्थामा भन्ने हो भने पहिला युनाइटेड जस्तो देखिन्थ्यो, लिभरपुल त्यस्तै गरिरहेको छ,’ उनले भने ।
लिभरपुलसँग युनाइटेडको तुलना गर्दा साभेज र नेभिलको भनाई उस्तै थियो । ‘लिभरपुलको अगाडि बाटो देखिन्छ । तर युनाइटेडका एक जना मिडफिल्डरले पनि बल पास गर्न सकिरहेका छैनन् । युनाइटेड साच्चै दयनीय अवस्थामा छ । साह्रै दुःख लाग्दो,’  नेभिलले भने ।

तथ्यमा युनाइटेड
– युनाइटेडले जारी प्रिमियर लिगका सुरुआति १७ खेलमा २६ अंक जोडेको छ ।  जुन १९९०–९१ को सिजनयता युनाइटेडको सबभन्दा कमजोर सुरुआत हो ।
– सिजनको आधा खेल पनि खेल्न नपाउँदै युनाइटेडले २९ गोल खाइसकेको छ । जुन २०१७–१८ को सिजनमा युनाइटेडले खाएको कुल गोल (२८) भन्दा एक बढी हो ।
– युनाइटेड हाल शीर्ष स्थानको लिभरपुलभन्दा १९ अंकले पछि छ । शीर्ष चारभन्दा ११ अंकले पछि रहेको टोलीको अंकतालिकामा शीर्ष स्थानभन्दा रेलिगेसन क्षेत्रसँगको दुरी कम छ ।
– लिगका पछिल्ला ६ खेलमा युनाइटेडले एकमात्र जित हासिल गर्न सकेको छ । टोलीको गोलअन्तर सुन्य छ ।
– आइतबारको खेलमा लिभरपुलले विपक्षी पोष्टमा ३६ सट प्रहार गरेको थियो । जुन प्रिमियर लिगमा ओप्टाले २००३–०४ देखि सटको तथ्यांक राख्न थालेयताकै युनाइटेडको पोष्टमा भएको सबभन्दा धेरै आक्रमण हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top