कांग्रेस महासमिति बैठकमा १७ सय जना सहभागी 

राजनीति मंसिर २९ २०७५ ekhabarnepal
Congress meeting


 पदाधिकारी संख्यामा मतभेद 

काठमाडौं, मंसिर २९
  
आजदेखि सुरु हुने महासमिति बैठकमा भाग लिन नेपाली कांग्रेसका देशभरका महासमिति सदस्य तथा जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएका छन्।

शनिबार बिहान ११ बजे रामशाहपथस्थित सिंहदरबारअगाडि यगम्बर पार्टी प्यालेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कूल १७ सय जना महासमिति बैठकमा सहभागी हुँदैछन्। उपसभापति विजयकुमार गच्छदारको पार्टी लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका दुई सय जनालाई महासमिति सदस्य बनाइएको छ भने एक सय जनालाई पर्यवेक्षकको रुपमा बैठकमा सहभागी गराइनेछ।

महासमिति बैठकमा महासमिति सदस्यका अलवा जिल्ला सभापतिहरु पर्यवेक्षकका रुपमा सहभागी हुँदैछन्। केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु पनि बैठकमा सहभागी हुन्छन्।

उद्घाटन सत्र सकेपछि आजै अपरान्ह बैठकमा आर्थिक, सांगाठानिक तथा राजनीतिक प्रतिवेदन पेश हुनेछ। सहमति नजुटेको पार्टीको संघीय विधान पनि महासमिति बैठकमा छलफलका लागि पेश गरिने कांग्रेसले जनाएको छ। पदाधिकारी संख्या बढाउने वा अहिलेकै राख्ने भन्नेमा कांग्रेसमा सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच मतभेद छ।

महासमिति बैठकका लागि शुक्रबार अपरान्ह पार्टी मुख्यालय सानेपामा नामावली दर्ता गराइएको थियो। आइतबार विहान ८ बजेदेखि बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले बताए। महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ। १३ ‍औं महाधिवेशनमा शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक बस्न लागेको हो। कांग्रेस विधानमा महाधिवेशन भएको वर्षबाहेक अरु बर्ष एक पटक महासमिति बैठक बोलाउनुपर्ने भएपनि विधान अनुसार बैठक बसेको थिएन। महासमितिले कांग्रेसको नीति बनाउने गर्छ।

गएको चुनावमा अनपेक्षित हारपछि नेतृत्वको आलोचना हुँदै आएको थियो। केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले नेतृत्वले हारको जिम्मेवारी लिनुपर्ने बताएका थिए भने तत्काल महासमिति बैठक बोलाएर विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए।

महासमिति बैठकमा विशेष महाधिवेशनबारे पनि आवाज उठाउने पक्षमा नेताहरु छन्।  

प्राप्त प्रतिकृयाहरू

To Top