‘ज्ञान, दर्शन तथा अध्यात्मको केन्द्र जनकपुर,’ योगी आदित्यनाथ

समाज मंसिर २७ २०७५ ekhabarnepal
Adinath


जनकपुरधाम, मङ्सिर २७ गते । भारतस्थित उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधाम हजारौँ वर्ष अघिदेखि नै ज्ञान, दर्शन तथा अध्यात्मको केन्द्र रहेको चर्चा गर्दै त्यसको निरन्तरता मिथिलावासीले दिइरहेकोमा खुसी व्यक्त गर्नुभएको छ । 
श्रीसीताराम विवाह महोत्सवको अवसर पारेर भारतको अयोध्याबाट जन्तीको नेतृत्व गर्दै आइपुग्नुभएका मुख्यमन्त्री आदित्यनाथले श्रीसीताराम विवाह महोत्सव मूल समारोह समितिले जनकपुरको बाह्रविघा रङ्गभूमि मैदानमा बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले मिथिला भूमिको महिमा तथा महत्वको बारेमा भगवान बुद्ध तथा महावीरले पनि खोजी गर्दै जनकपुरधाम आएको बताउनुहुँदै अध्यात्मका साथै भौतिक विकास गर्न जरुरी रहेको बताउनुभयो ।
भारत सरकारले नेपाल भारतको सीमानासँग जोडिएको सडक सञ्जालको निर्माणका लागि एकमुष्ट आर्थिक सहयोग गरेको बताउनुहुँदै मुख्यमन्त्री योगीले दुई देशको प्रचीन सम्बन्धलाई भौतिक विकासले अझै मजबुत बनाउने बताउनुभयो । उहाँले जनकपुरर अयोध्यालाई रामजानकी मार्गको रुपमा विकास तथा विस्तारका लागि काम सुरु गरिएको जानकारी पनि दिनुभयो । 
उहाँले नेपाल भारत बीचको सम्बन्ध निकै प्रगाढ रहेको बताउँदै भगवान रामलाई पूर्ण बनाउने काम माता जानकीले गरेको बताउनुभयो । महिला सहभागिता तथा सुरक्षाका लागि केन्द्र तथा प्रदेश सरकारले लिएको नीति निकै महत्वपूर्ण भएको र प्रदेश–२ को सरकारले चलाएको बेटी पढाउ बेटी बचाउ अभियान सराहनीय रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले हरेक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता गराउने गरी लिएको नीतिको योगीले प्रशंसा गर्नुभयो । उहाँले मिथिला तथा अवधका बीचमा पर्यटनको व्यापक सम्भावना रहेको बताउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आएको बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुर–अयोध्या बस सेवाको सुरुआत गर्नुभएको बताउनुभयो ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश–२ को धरोहरको रुपमा रहेको जनकपुरधामको अध्यात्मिक तथा भौतिक विकासका लागि प्रदेश सरकार ठोस योजनाका साथ अगाडि बढेको बताउनुभयो । प्रदेशको समृद्धिका लागि पर्यटन निकै महत्वपूर्ण भएको बताँउदै उहाँले विवाहपञ्चमी जस्तो पर्वले पनि पर्यटन वृद्धि गरेको बताउनुभयो । 
त्यस कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले स्वगत तथा अभिनन्दन गर्नुभएको थियो । जानकी मंन्दिरका उत्तराधिकारी तथा विवाहपञ्चमी महोत्सव मूल समारोह समितिका अध्यक्ष रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, प्रदेश प्रमुख रतनेश्वर लाल कायस्थ, राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो सहितका व्यक्तिहरुको उपस्थिति थियो ।

यसअघि भारतीय वायु सेनाको विशेष विमानबाट जनकपुर विमानस्थलमा आदित्यनाथ ओर्लिनु भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री अधिकारी, प्रदेश–२ का मुख्यमन्त्री राउत, प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, प्रदेश सभाका सदस्यहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मंन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णव, पञ्चकन्या तथा स्थानीय सुरक्षा अधिकारीहरुले स्वागत गर्नुभएको थियो । विमानस्थलबाट सोझै जानकी मन्दिर पुगेर मुख्यमन्त्री आदित्यनाथले विशेष पूजाअर्चना गर्नुभएको थियो ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top