आठ प्रदेश कमिटीको एकीकरण:जिल्ला अध्यक्ष र सचिव केन्द्रबाट तोकिदै

राजनीति मंसिर १६ २०७५ ekhabarnepal
87969873598 nekapa

काठमाडौं मंसिर १६, 
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  केन्द्रीय कमिटी एकीकरण भएको ७ महिनापछि प्रदेश कमिटी एकीकरण गरेको छ । ७ भौगोलिक र एक गैरभौगोलिक सहित ८ वटा प्रदेश कमिटीको नाम नेकपाले आज सार्वजनिक गर्दैछ । 

पार्टीका महासचिव विष्णु पौडेलले आज एक कार्यक्रम मार्फत प्रदेशको नाम र कमिटिको नामावली सार्वजनिक गर्दैहुनुहुन्छ । प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नाम सचिवालयले टुंगो लगाइसकेकाले सार्वजनिक गर्न लागिएको नेकपा स्रोत बताउँछ । कार्यदलहरुले सिफारिस गरेका नाममा एकाध जनाको हेरफेर भएको स्रोतले बतायो । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रदेश कमिटी एकीकरणको अन्तिम टुंगो लगाएपछि नाम सार्वजनिक गर्न लागिएको हो ।

सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै तोकिइसकेका छन् । अब सदस्यहरुको नाम सार्वजनिक भएसँगै प्रदेश कमिटीहरुले पूर्णता पाउने नेकपाले जनाएको छ । पेशागत, मजदूर, विद्यार्थी, युवा र उद्योगी व्यवसायीहरुको विशेष जिल्ला कमिटीलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी समेत गठन भएको छ ।

विशेष कमिटीलाई समेत नेकपाले प्रदेश कमिटीको मान्यता दिने निर्णय गरेको छ । नेकपाका ७७ जिल्ला कमिटी बाहेक उपत्यकाभित्र ५ वटा विशेष जिल्ला कमिटीसमेत गठन हुँदैछन् । स्रोतका अनुसार सचिवालयमा छलफलपछि जिल्ला कमिटी अध्यक्ष र सचिवहरुको टुंगो लगाइदैछ । जिल्ला कमिटी सदस्य र जिल्ला कार्यालयको टुंगो भने प्रदेश कमिटीबाट लगाइने बताइएको  छ । 

यसअघि नै सम्बन्धित जिल्लामा तत्कालीन एमाले र तत्कालीन माओवादीका पदाधिकारी रहेको कार्यदल बनाइएको थियो । यद्यपी जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड भने केन्द्रले नै गर्ने बताइएको छ ।  जिल्ला कमिटी एकीकरणसँगै जनवर्गीय संगठनको पनि टुंगो लगाइँदैछ । 
  

प्राप्त प्रतिकृयाहरू

To Top