मुलुककै ठूलो कोष हुनेछ 'सामाजिक सुरक्षा कोष': त्यसको सदुपयोग गरिने प्रधानमन्त्रीको वचनवद्धता 

राजनीति मंसिर ११ २०७५ ekhabarnepal
Oli 84296720489

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रको गरिमा र लोकतन्त्रको उपज भएको बताउँदै विवादमा ल्याइएकोमा चिन्ता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रपति विध्वंश मच्चाएर नल्याएको टिप्पणी गरे । 

त्यस्तै उनले विभिन्न शक्तिले लोकतन्त्र मास्न खोजिरहेको, परिवर्तन संस्थागत हुन नदिन अनेक प्रयत्न गरिरहेको, एकता, साम्प्रदायिकतामा खलल पुर्याउने कोसिस गरिरहेको भन्दै चिन्ता व्यक्त गरे ।सरकारले गति लिएको र अघि बढ्ने प्रयास गरिरहेको भन्दै उनले सरकारको काममा सहयोग पुर्याउन अनुरोधसमेत गरे ।मंगलबार उद्घाटन भएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षा कोष मुलुककै ठूलो कोष हुने दाबी गर्दै उनले त्यसको सही सदुपयोग गरिने वचनवद्धता व्यक्त गरे । मजदुरको हित र रोजगारीको क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम कोशेढुंगा भएकाले सरकारले बाटो बनाउन सकेको भन्दै उनले खुसी व्यक्त गरे ।


“बाटो बनेपछि आगामी सरकारले यसमा गाडी कुदाउन सक्छन्,” उनको प्रतीकात्मक टिप्पणी थियो । त्यस्तै उनले सामाजिक सुरक्षा कार्यक्रमले सबै पक्षलाई समेट्ने भन्दै सरकार संरक्षक र सहयोगी दुवै भएको बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरूले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । 

प्राप्त प्रतिकृयाहरू

To Top