लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आरम्भ गर्दै सातवटै 'प्रदेशसभा भवनमा लगाइयो सुन्तला रंग'

समाज मंसिर १० २०७५ ekhabarnepal
970078 orange

महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आरम्भ गर्दै नेपालका सातवटै प्रदेशसभा भवन सुन्तला रंगले रंगाइएको छ ।
नेपालका प्रदेश सरकारहरुका साथै नेपालस्थित संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय विकास साझेदार समूहका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण समूहले संयुक्त रुपमा युनाइट अभियानको औपचारिक रंगको प्रयोग गर्दै संसद भवनहरु सुन्तला रंगले रंगाएर विश्वव्यापी अभियानमा सहभागिता जनाएका हुन् ।यस वर्षको महिला हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार संयुक्त राष्ट्र संघको ‘ओरेन्ज द वर्ल्डः हियर मि टु’ (मेरो पनि सुन) भन्ने अभियानले महिला तथा किशोरीहरुमाथि हुने यौन हिंसा तथा अन्य गम्भीर प्रकृतिका हिंसाको विरुद्ध राष्ट्रव्यापी रुपमा ऐक्यवद्धता जनाउँदै एकिकृत हुन आह्वान गरेको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


यसै सन्र्दभमा राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ति जारी गर्दै बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथालाई कानुनले निषेध गरिसकेको अवस्थामा समेत अन्धविश्वास, कुरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताएकी छन् । महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिक रुपले आत्मनिर्भर र स्वाबलम्बी बनाउनुपर्ने आजको आवश्यकता रहेको उनले औंल्याएकी छन् । “लैङ्गिकताका आधारमा हिंसा वा हिंसाको त्रास सामना गरेका सबैजना प्रति आज हामी ऐक्यवद्धता जनाउँछौं । हिंसामा परेका व्यक्ति र अभियन्ताहरुको आवाज एवं अथक प्रयासको समर्थन गरौं । महिला र किशोरी विरुद्धको हिंसा विश्वव्यापी रुपमा सबैभन्दा बढी हुने मानव अधिकार उल्लंघन हो,” नेपालस्थित संयुक्त राष्ट्र संघका आवसीय प्रतिनिधि भ्यालरी जुलियान्डले भनिन् । 
सुन्तला रंग लगाउने र अन्तरक्रियाका कार्यक्रमले सरकार, नागरिक समाज, संयुक्त राष्ट्र संघका साथसाथै अन्तराष्ट्रिय विकासका साझेदारसंथाहरुलाई एक ठाउँ उभ्याएर लैङ्गिक हिंसाको सवाललाई महत्वपूर्ण रुपमा उजागर गर्ने काम गरेको राष्ट्रसंघको ठहर छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top