प्रदेश सरकार र दातृ निकायबीच छलफल

समाज कार्तिक ३० २०७५ ekhabarnepal
09860

बुटवल रासस  । कात्तिक ३०,
  प्रदेश नं ५ को विकास र समृद्धिका लागि विदेशी दातृ निकायले चासो देखाउन थालेका छन् । दातृ निकायका प्रतिनिधिहरुले के कस्ता क्षेत्रमा सहकार्य गरेर काम गर्न सकिन्छ भनेर प्रदेश सरकारसँग छलफल गरेका हुन् । 

उनीहरुले सङ्घीयताको कार्यान्वयन, प्रदेश सरकारको सञ्चालनको अवस्थालगायत विषयमा समेत प्रदेश सरकारसँग छलफल गरेका छन् ।सोही क्रममा मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले बिहीबार मुख्यमन्त्रीको कार्यालयमा भेट गर्नुभयो । भेटमा सङ्घीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशको प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोगबारे छलफल भएको थियो । मुख्यमन्त्री पोखरेलले तीन तहको चुनावपछि प्रशासनिक पुनःसंरचनाले प्रशासनिक सङ्घीयता कार्यान्वयन हुने र वित्तीय सङ्घीयता कार्यान्वयन भएपछि सङ्घीयता पूर्णरुपमा कार्यान्वयन हुने जानकारी राजदूत बेरीलाई गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । 

भेटमा मुख्यमन्त्रीले प्रदेश ५ ‘मिनी नेपाल’को रुपमा रहेको भन्दै यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरू सबै प्रदेशका विशेषता रहेको मुख्यमन्त्रीले राजदूतलाई जानकारी गराउनुभयो । शहरीकरणलाई व्यवस्थित गर्न र कृषि उत्पादनको बजारलाई सुनिश्चित गर्न महानगरीय पूर्वाधार विकासको नमूना अघि सारिएको, प्रदेशको गरिबी हटाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारिएको मुख्यमन्त्रीले जानकारी गराउनुभएको थियो । 

राजदूत बेरीले नेपालको सङ्घीयता कार्यान्वयनमा अमेरिका सरकारले गर्नसक्ने सहयोगबारे जिज्ञासा राख्नका साथैे अमेरिकाले २५० वर्षदेखि सङ्घीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको बताउनुभएको थियो ।राजदूत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले पोखरेलले राजदूत बेरीलाई धन्यवाद दिनुभयो । 

त्यसैगरी बिहीबार नै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डीएफआईडी अन्तगर्तको रोजगारका लागि सीप कार्यक्रमका टोलीनेता बाल्जित भोराले भेट गर्नुभएको थियो । भेटमा रोजगार सिर्जना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि प्रदेश सरकारसँग मिलेर कार्यक्रम गर्नेबारे छलफल भएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top