विलासी जीवनले मधुमेहका रोगी बढ्दै

समाज कार्तिक २८ २०७५ ekhabarnepal
Diabeties


रासस  
कार्तिक २८
असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरूबाट प्रभावित हुनेहरू पनि बढ्दै गएका छन् ।

सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा. भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी बर्सेनि थपिँदै गएका छन् ।

डा. अधिकारीका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । तीमध्ये सात १० प्रतिशत उच्च जोखिमका छन् । सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । यी दुई देशको बिचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उनले बताए ।

विकासोन्मुख देशहरूका जनता गरिबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरू ह्वात्तै बढ्ने गरेका छन् ।

विसं २०६७ मा सात जना मधुमेहका बिरामीबाट उपचार सुरु गरेको बताउने डा. अधिकारी अहिले सात हजार हाराहारी आफ्नो निगरानीमा रहेको बताउँछन् । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र सात दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्याङ्क छ । चितवनमा यो १० देखि १२ प्रतिशत रहेको डा. अधिकारीको भनाई छ ।

मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान उनको सुझाव छ ।

यस्तै चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top