डलर नसाट्दैमा 'अर्थतन्त्रमा सुधार हुँदैन'

अर्थ कार्तिक २७ २०७५ ekhabarnepal
Dalar


बीबीसी, 
विदेश भ्रमणमा जाने नेपालीले साट्न पाउने डलरको मात्रा घटाउँदैमा नेपालको शोधनान्तर स्थितिमा खासै सुधार आउन नसक्ने अर्थशास्त्रीहरूले बताएका छन्।

आयातको मात्रा कम गर्ने उपायहरू अवलम्बन नगरी सरकारले अन्य विकल्प खोज्नुको कुनै अर्थ नभएको उनीहरूको धारणा छ।

सरकारी अधिकारीहरूले भने डलर सटहीको मात्रा घटाउनुका साथै अन्य कदमहरू समेत चालिएको बताएका छन्।

नेपाल भित्रिनेभन्दा बाहिरिने रकम बढी भई शोधनान्तर घाटा बढेको भन्दै नेपाल राष्ट्र ब्याङ्कले केही दिनअघि विदेश जाने नेपालीलाई दिँदै आएको डलर सुविधामा कटौती गरेको हो।

पहिले एक जनाले २,५०० डलर लान पाउने व्यवस्था रहेकामा हाल त्यसलाई घटाएर १,५०० डलर बनाइएको छ।

तर अर्थशास्त्री केशव आचार्य डलर सटही सुविधा कम गर्दैमा शोधानान्तर घाटा कम नहुने बताउँछन्।

उनी भन्छन्, "डलर सटहीमा हामीलाई ११ अर्ब घाटा छ, तर व्यापारघाटा भने २ सय अर्बभन्दा बढी छ। भारत र श्रीलंकाले यस्तै अवस्थामा एक डेढ महिना अघि आयात नै रोक्ने निर्णय गरे, हामी चाहिँ झिनामसिना तिर लाग्यौ।"

उनले सरकारले समयमा नै शोधनान्तर स्थिति सुधार गर्न थप पहल नगरे त्यसले नेपालको समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पार्नसक्ने बताए।
अर्का अर्थशास्त्री मदन दाहाल पनि शोधनान्तर स्थितिमा डलर सटहीको भाग झन्डै पाँच प्रतिशत मात्र रहने बताउँछन्।

दाहालले शोधनान्तर अवस्था सुधार नभए नेपाली मुद्रा अवमूल्यन हुने तथा विदेशीले नेपालमा लगानी गर्ने वातावरण बन्न नसक्ने चेतावनी दिए।

"शोधनान्तर स्थिति बिग्रिनेबित्तिकै भोलि अर्थतन्त्र त टाट पल्टन सक्छ। त्यसले समष्टिगत अर्थतन्त्रमै नकारात्मक असर पर्छ," उनले भने।

उनी शोधनान्तर स्थिति सुधार गर्न आयातमा कडाइ गर्नुका साथै सरकार आफैँले गर्ने खर्चमा समेत ध्यान दिनुपर्ने सुझाव दिन्छन्।
नेपालबाट अनावश्यक कार्यक्रमहरूमा समेत सरकारी अधिकारीहरू विदेश भ्रमणमा जाने कार्य रोक्दा शोधनान्तर स्थितिमा केही सुधार आउने अर्थशास्त्रीहरूको तर्क छ।
कतिपय अर्थशास्त्रीहरू भने डलरको भाउ वृद्धि भएकाले त्यसको असर नेपालमा परेको बताउँछन्।

भारतीय रूपैयाँसँग स्थिर विनिमयदर भएकाले मात्र शोधनान्तर घाटाको अवस्थामा समेत नेपाली मुद्राको भाउ कम नभएको उनीहरूको बुझाइ छ।

नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा पाँच अर्ब ८७ करोड शोधनान्तर घाटा रहेकोमा यस वर्षको त्यसै अवधिमा भने २५ अर्ब ४५ करोड पुगेको छ।

यस अवधिमा दुई खर्ब १३ अर्ब रूपैयाँ बराबरको व्यापार घाटा देखिन्छ।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता नारायण पौडेलले भने अहिले चालिएका कदमहरूले यो स्थितिमा सुधार आउने बताए।

उनले भने, "अहिले हामीले डलर सटही सहितका विभिन्न कडाइ गरेका छौँ, त्यसले शोधानान्तर स्थितिमा अवश्य सुधार गर्छ।"
 

प्राप्त प्रतिकृयाहरू

To Top