आज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै,अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

समाज कार्तिक २७ २०७५ ekhabarnepal
Chhath

 

किन गरिन्छ सूर्यको पूजा

काठमाडौँ, कात्तिक २७ गते । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ । बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ । 
विगत वर्षझैँ यो वर्ष पनि तराई र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो । राजधानीको गुह्ेश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरणको गहना पोखरी, कालिमाटी, ललितपुरको कुपण्डोल, नख्खु दोबाटो गरी आठ स्थानमा यो पर्व मनाउनका तयारी गरिएको छ ।
राजधानीमा आयोजित छठ समारोहमा दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता हुने भएको छ ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले राजधानीको गुह्ेश्वर र कमलपोखरीमा आयोजित छठ पूजा समारोहमा राष्ट्रपति भण्डारीको सहभागिता हुने जानकारी दिनुभयो ।

गृह्ेश्वरी छठ पूजा समितिका संयोजक राजकुमार पोद्दारले ६६५ जना ब्रतालुका लागि ठाउँ निर्माण गरिएको जानकारी दिनुभयो । गुह्ेश्वरीमा आयोजना हुने छठ पूजामा सहभागी ब्रतालुमध्ये ४० प्रतिशत पहाडी समुदायको सहभागिता हुने गरेको उहाँले बताउनुभयो । यसपालि पहाडी समुदायको सहभागिता अझै बढ्ने विश्वास गरिएको उहाँले बताउनुभयो । 
छठ पूजा समारोहमा विगतझैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको जानकारी समेत उहाँले दिनुभयो ।
कमलपोखरी छठ पूजा समितिका महासचिव रामकुमार जैनले ३१० जना ब्रतालुले आफ्नो ठाउँ (घाट) सुरक्षित गराइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, गत वर्ष २७३ जनाले यहाँ छठ पूजा गरेका थिए । ठाउँ सुरक्षित गर्न अनिवार्य शुल्कको व्यवस्था नगरिएको उहाँले बताउनुभयो ।
विगत आठ वर्षदेखि कमल पोखारीमा छठ मनाइँदै आएको र हरेक वर्ष पहाडी समुदायको सहभागिता बढ्दै गइरहेको जानकारी समेत उहाँले दिनुभयो । 
उहाँका अनुसार यहाँ बसुन्धरा, थानकोट, कोटेश्वर, कालोपुल, रातोपुल, कपनलगायतका ठाउँबाट पहाडी समुदायको सहभागिता हुने गरेको बताउनुभयो ।
उहाँका अनुसार, गत वर्ष पहाडी समुदायबाट ३० जना ब्रतालुको सहभागिता भएको थियो भने यो वर्ष ३५ जनाले ठाउँ सुरक्षित गराइसकेका छन् । 
ब्रतालु र भक्तजनको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा, ब्रतालुका लागि ओढ्ने ओछ्याउने कपडाको समेत व्यवस्था गरिएको छ । साथै आगो ताप्नका लागि दाउराको समेत व्यवस्था गरिएको छ ।
कमल पोखरीमा अतिथिको रुपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, छठ पूजा तथा समाज सेवा समिति, कुपण्डोलका अध्यक्ष राकेश मेहताले कुपण्डोलमा आयोजना गर्न लागिएको छठ पूजा समारोहमा सोमबार दिउँसोसम्म १५० जना ब्रतालुले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो । विगत २१ वर्षदेखि छठ पर्वको आयोजना हुँदै आएको कुपण्डोलमा ब्रतालुबाट कुनै किसिमको शुल्क वा चन्दा नलिने गरिएको उहाँले बताउनुभयो ।
यहाँ आयोजित छठ पर्वमा पहाडी समुदायको सहभागिता हरेक वर्ष बढ्दै गएको बताउँदै उहाँले गत वर्ष पहाडी समुदायबाट सातजना ब्रतालुको सहभागिता रहेकोमा यो वर्ष ११ जनाले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो ।
 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि सुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि
छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन् ।

यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम अनुसार  प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष काटिएको छ । दुई नम्बर प्रदेशमा भने प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top