मानव अधिकारवादी नेता तुलाधरको निधन 

समाज कार्तिक १८ २०७५ ekhabarnepal
Padmaratna tuladhar


 काठमाडौं कार्तिक १८
पूर्व मन्त्री, वामपन्थी तथा मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा तुलाधरको निधन भएको उहाँका परिवारका सदस्य तथा मानव अधिकारकर्मी गौरी प्रधानले जानकारी दिनुभयो । उनी ७७ वर्षका थिए।
 मष्तिष्क स्नायू सम्बन्धी समस्या आएपछि गत कात्र्तिक ९ गत उहाँलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नर्भिक सारिएको थियो । श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर लैनचौर स्थित निवासमा राखिने प्रधानले बताउनुभयो । भोलि अन्त्येष्टी गरिने प्रधानले जानकारी दिनुभयो ।

दुई बामपन्थी पार्टीहरु एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आफू सबैभन्दा बढी खुसी भएको उनले बताएका थिए।

उनी नेपाल सम्बतलाई राष्ट्रिय मान्यता प्रदान गराउन थालिएको आन्दोलनको नेतृत्वदायी संस्था नेपालभाषा मंकाः खलःका अध्यक्ष समेत थिए। उनले लामो समय पत्रकारितासमेत गरेका थिए। राष्ट्रिय पञ्चायतमा जनपक्षीय सांसदका रुपमा ८६ हजारभन्दा बढी मतबाट उनी निर्वाचित भएका थिए, २०४३ सालमा।  २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्री बनेका तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता पनि रहेका थिए।

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top