अव सरकारको गियर वढ्छ ः प्रचण्ड,  पार्टी एकता प्रक्रिया छिटो टुगिन्छ ः पौडेल

राजनीति कार्तिक १७ २०७५ ekhabarnepal
1


बुटवल,कार्तिक १७ ।
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म विभिन्न कारणले सरकार पहिलो गियरमा चलेको भएपनि अव दोश्रो तेश्रो गियरमा जाने विश्वास ब्यक्त गर्नु भएको छ । 
नेकपा रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतका अवसरमा आज बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै उहाँले जनताले देख्ने गरी अव काम हुन थालेकोले जनताका गुनासाहरु स्वतः सम्वोधन हुने दावी पनि गर्नुभयो । 
नेपाल अब ल्याण्ड लक नभएर ल्याण्ड लिंक भएको दाबी गर्दै उहाँले भारत र चिन मात्रै होइन अव बिश्वभर ब्यापार गर्न पाउने भैसकेपछि हाम्रो परिचयसमेत बदलिएको वताउनु भयो । 
 असोज ३ गतेसम्म संबैधानिक व्यवस्था अनुसार आवश्यक मौलिक अधिकार सम्वन्धि ऐन कानुन बनाउन केन्द्रित भएको र बिकासका लागि पूर्वाधारहरु पनि तयार गरेकाले अव जनताले देख्ने गरी काम गर्ने बताउनु भयो ।
प्रतिक्रियाबादीहरु बिचबिचमा खेल्ने कोसिस गरेको भन्दै प्रचण्डले भन्नुभयो—तर,उनीहरु सफल हुँदैनन् । अध्यक्ष दाहालले अबको युग बिकासको युग भए वताउँदै सरकारले काम गर्न सकेन भनेर हुन्छ की बिभिन्न बिबाद देखाएर हुन्छ की प्रतिक्रियाबादीहरुले साना तिना घटनालाइ तिललाई पहाड बनाएर असफल वनाउने झिंंगे दाउ खेल्ने कोशिस गरेपनि त्यसलाई असफल वनाइने दावी गर्नुभयो ।
कर्मचारीतन्त्रले संघीयता नबुझेका कारण कतिपय समस्या आए पनि अव त्यसको समाधान खोजिने दाहालको भनाइ छ । 
पार्टी  अध्यक्ष प्रचण्डले प्राबिधिक कठिनाइका कारण पार्टी एकताका प्रक्रिया नटुंगिएपनि बिबादका कारण नरोकिएकोले अब केही दिनमै पार्टीको तल्लो तहसम्म एकता हुने बताउनु भयो । 
‘बिबाद भएर पार्टी एकता ढिलो भएको होइन, भोलि अप्ठ्यारो नपरोस् भनेर बिवेकपूर्ण ढंगले काम भैरहेको छ’, प्रचण्डको भनाई छ ।
पूर्वप्रधानमन्त्री दाहालले ५ वर्षमा पूर्वाधार बिकास गरी समृद्धिको स्पष्ट दिशामा देशलाई अघि बढाउने उल्लेख गर्दै १० वर्षमा एसियाली मापदण्ड भन्दा पनि तिब्र बिकास भएको देशमा रुपान्तरण गर्न सकिने बताउनु भयो । 
कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले सरकारले एक वर्ष काम नगर्दै यसको मूल्यांकन गर्न उपयुक्त नहुने बताउदै न्युनतम एउटा आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदासम्म पर्खिन आग्रह गर्नुभयो ।
उहाँले २ पार्टी बिचको एकता पश्चात् पार्टीका सबै तहले पूर्णता नपाएको प्रसंगमा एकता प्रक्रिया टुग्याउन गाह्रो भएर नभई एकताको जग बलियो वनाउन र एकले अर्कोलाई पनि राम्रो संग चिन्न सकियोस् भनेर केही समय ढिलाई भएको बताउनु भयो ।
महासचिब बिष्णु पौडेलले नेकपाबाटै बिकास सम्भब भएकोले यो सरकारलाइ असफल हुने कुनै छुट नभएको बताउनु भयो ।
प्रदेश ५ का मुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज शंकर पोखरेलले ५ नम्वर प्रदेशलाई मिनी नेपालको रुपमा चित्रण गर्दै यसको विकास हुँदा देशकै विकास हुने धारणा ब्यक्त गर्नुभयो । मधेसका, कर्णालीका, विकसित क्षेत्रका गरि सवैखाले विशेषता रहेको यो प्रदेश गौतम वुद्घका कारणले मात्र हैन मानव विकासको हिसावले, झापा काण्डको नेतृत्व देखि जनयुद्घको उद्गमस्थल सम्मको हिसावले पनि स्मरणीय रहेको वताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले संक्रमण र अन्यौललाई हटाएर २ वर्षमा दुई अंकको आर्थिक बृद्धि गर्ने गरी केन्द्रिय र प्रदेश सरकारहरुले काम गरिरहेको बताउनु भयो । 
संघीय सरकारका कृषि तथा पशुपक्षि बिकास मन्त्री चक्रपाणी खनालले नेपालको इतिहासमा राम्रो र बलियो बनेको अहिलेको सरकारले देशको बिकास र आर्थिक समृद्धिको एजेण्डालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै जनताले केही समयमा नै परिवर्तनको महसुश गर्न सक्ने बताउनु भयो ।
पर्टी स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझीले बुलेटमा मात्र होइन ब्यालेटमा पनि नेपालका कम्युनिष्ट पार्टी सक्षम छन भन्ने प्रमाण बिश्व समुदायलाई अहिले नेकपाले दिइसकेकाले अव बिकास र समृद्धिको नेतृत्व गरेर बिश्वमा नयाँ इतिहास कायम गर्ने बताउनु भयो ।
पर्टीका प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले पार्टीले पाएको अहिलेको ऐतिहासिक अवसरलाई नेतृत्वले सुझबुझपूर्ण निणर्य गर्दै जनतालाई परिवर्तनको प्रत्याभूति दिन सक्ने बिश्वास व्यक्त गर्नुभयो ।
पार्टी रुपन्देही कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको सभापतित्व र कार्यदल सदस्य निर्मल जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top