आज कांग्रेसको शुभकामना आदान प्रदान तथा चियापान समारोह 

राजनीति कार्तिक १६ २०७५ ekhabarnepal
88

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार (आज) दसैं, तिहार तथा छठ पर्व र नेपाल सम्वत ११३९ को अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान समारोहको आयोजना गरेको छ । कांग्रेसले देशभर एकै दिन एकै साथ चियापान कार्यक्रम गर्न लागेको हो । उपत्यकाका तीन वटै जिल्लाले संयुक्त रुपमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट चियापान कार्यक्रमको आयोजना गरिएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुभकामना आदान प्रदान तथा चियापान समारोहमा राजनीतिक दलका नेताहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, संबैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, संञ्चार गृहहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुका संघ–संस्थाका प्रमुखहरु लगायतका कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता रहने बताएका छन् । 

कांग्रेसले यसअघि कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लाहरुमा एक साथ चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर कांग्रेसका नेता तथा पूर्वपूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको निधनको शोकमा उक्त कार्यक्रम कात्तिक १६ गतेका लागि सारिएको थियो । नेता बास्तोलाको गत असोज २७ गते राति निधन भएको थियो । 

२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले २०३५ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन जलपान समारोह गरेर शुभकामना आदान–प्रदान गर्दै आएको छ ।  चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । 

कांग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन

 

प्राप्त प्रतिकृयाहरू

To Top