'लगानी गर्नुहोस् फिर्ताको ग्यारेन्टी सरकारले गर्नेछ'-राष्ट्रपति भण्डारी

राजनीति कार्तिक १४ २०७५ ekhabarnepal
000000

काठमाडौं  कात्तिक१४, 
 राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा गरिएको तपाईँको लगानीले उच्च प्रतिफल दिने र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी नेपाल सरकारले गर्ने बताउँदै लगानी गर्न आव्हान गर्नुभएको छ ।कतारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपतिले मंगलबार नेपाल–कतार व्यवसायिक मञ्चलाई सम्वोधन गर्दै नेपालमा लगानी गरेमा प्रतिफलको सुनिश्चितता गरिने बताउनुभएको हो ।

राष्ट्रपतिको सम्वोधनको पूर्णपाठ पढ्नुहोस्:

व्यवसायिक समुदायका सदस्यज्यूहरू,
सञ्चारकर्मी साथीहरू,
महिला तथा सज्जनवृन्द ।

नेपालको राष्ट्रपतिको रूपमा हाम्रो असल मित्रराष्ट्र कतारको ‍औपचारिक भ्रमणमा आएको छु । 
यहाँ आएर व्यवसायिक समुदायको यस मञ्चलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको छ ।  
नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको छ । 
यस अवधिमा नेपाल र कतारबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको छ।  
नेपाल र कतारबीच श्रम सम्बन्धमात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको जान्न पाउँदा मलाई धेरै खुसी लागेको छ ।
महिला तथा सज्जनवृन्द १ 

कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा रहेको छ । 
साथै, कतार नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्पर्क रहेको छ । 
कतार एयरवेजले दोहा(काठमाण्डौ(दोहा प्रतिदिन चार(पाँचवटा उडान भर्ने गरेको छ भने नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि काठमाण्डौ(दोहा प्रतिदिन एक एक वटा उडान भर्ने गरेका छन् ।
 यसबाट नेपाल(कतारबीच आवागमन सहज हुनुका साथै अन्य मुलुकबाट आउने पर्यटकहरूको आवागमनमा पनि सहजता आएको छ ।  
महिला तथा सज्जनवृन्द १ 

नेपालमा राजनीतिक स्थिरता कायम भई देश समृद्धि पथमा लागिसकेको कुरा व्यक्त गर्न पाउदा मलाई गौरवानुभूति भएको छ । 
 तीव्र गतिमा विकासलाई अगाडि बढाउनका लागि हामीलाई प्रविधि र वित्तीय स्रोतको आवश्यकता छ । 
तपाईं कतारका व्यवसायी र लगानीकर्ताहरूलाई म आह्वान गर्न चाहन्छु ( तपाईँहरू अब नेपालमा लगानी गर्न आउनुहोस् । यहाँहरुले प्रत्यक्ष वैदेशिक लगानी वा नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्न सक्नुहुन्छ । 
 यस सम्बन्धमा माननीय परराष्ट्र मन्त्रीले विस्तृतरूपमा प्रकाश पार्नुहुनेछ । 
म यति भन्छु कि नेपालमा गरिएको तपाईँको लगानीले उच्च प्रतिफल दिनेछ र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी नेपाल सरकारले गर्नेछ। 
नेपालमा बहुराष्ट्रिय कम्पनीहरूले बिगतमा गरेको लगानीले राम्रो प्रतिफल दिएको  उदाहरण छ । 
तसर्थ, ढुक्क भएर पर्यटन, उर्जा, कृषि, पूर्वाधार, र उत्पादनमूलक उद्योग आदिमा लगानी गरी भरपुर फाइदा उठाउन पनि म कतारी लगानीकर्ता मित्रहरूलाई आग्रह गर्दछु  । 
महिला तथा सज्जनवृन्द १ 

राम्रो पूर्वाधार निर्माण गर्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्नेछ । 
त्यसैले नेपालमा पर्यटन पूर्वाधारको लगानी गर्दा उचित प्रतिफल दिने निश्चित छ । 
हिमालहरूबाट स्वच्छ पिउने पानी उत्पादन गरी निर्यात गर्ने प्रचुर सम्भावना पनि त्यत्तिकै रहेको छ ।
यसैगरी नेपालको भौगोलिक विविधताका कारण जैविक खेती, पशुपालन र मासु उत्पादनको ठूलो सम्भावना रहेको छ । 
कृषि, पशुपालन र मासु विकासको क्षेत्रमा साझेदारीलाई अगाडी बढाउन आजै मात्र दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौगोलिक दूरीका हिसावले पनि कतार नजिक रहेकोले यहाँका व्यवसायीहरूले नेपालमा यस क्षेत्रमा लगानी गरी त्यस्को उत्पादन कतार ल्याएर उपभोग गर्न वा विश्व वजारमा बेच्न सक्ने सहज अवस्था छ ।
यसतर्फ ध्यान दिन म व्यवसायिक समुदायलाई आग्रह गर्न चाहन्छु ।  
महिला तथा सज्जनवृन्द १ 

मलाई लाग्दछ, कतारमा पेशा, व्यापार तथा व्यवसाय गरेर बस्ने ठूलो नेपाली समुदाय छ ।
यस समुदायले यहाँको व्यवसायिक समुदायसँग निकट भएर काम गरेको छ ।
 साथै, कतारमा भएको व्यवसायिक समुदायले पनि नेपाली समुदायसँग घुलमिल गरेको छ । 
तसर्थ, यस सम्बन्धलाई उपयोग गरी दुवै मुलुकको हितका लागि काम गर्न  म यहाँ उपस्थित नेपाल र कतारका व्यवसायिक समुदायका सदस्यहरूलाई आग्रह गर्न चाहन्छु ।  
म जोड दिन चाहान्छु( अनुकूल श्रम सम्बन्ध, सस्तो र युवा जनशक्तिको सहज उपलब्धता, झण्डै ३ करोड जनसंख्याको आन्तरिक बजार तथा छिमेकमा रहेका विशाल बजार तथा लगानीको सुरक्षाका लागि विभिन्न कानूनी र संस्थागत प्रबन्धहरुले नेपालमा लगानीलाई आकर्षक र सुरक्षित बनाएका छन् ।
 यस्तो लगानीले दुवै देशको समृद्धिमा सहयोग पुर्‍याउनेछ र यसले दुईपक्षीय सम्बन्धलाई थप सुदृढ गर्नेछ ।
  र अन्तमा, नेपाल र कतारबीचको सम्बन्ध अझ गाढा होस् र दुवै देशको सम्मान, पारस्परिक हित र समुन्नतिका लागि व्यवसायिक समुदायले पनि आफ्नो स्थानबाट सघाउ पुर्‍याउन सधै तत्पर रहोस् भन्ने कामना गर्दै यहाँहरूले यो कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यबाद दिन चाहन्छु ।
धन्यवाद । 

प्राप्त प्रतिकृयाहरू

To Top