प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले कस्तो छ?अझै दुई तीन अस्पतालमा  

समाज कार्तिक १३ २०७५ ekhabarnepal
99999

काठमाडौं । छातीमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको छ । मौसमी रुघाखोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

दसैंको टीकाको दिनदेखि नै प्रधानमन्त्री ओली अस्वस्थ भएका थिए । उनी टीकाको दिनदेखि चतुर्दशीका दिनसम्म टीकाटालोमा व्यस्त रहेका र त्यसअघि पनि विभिन्न कार्यक्रममा जिल्ला दौडमा पुगेका प्रधानमन्त्री ओली दसैंलगत्तै थलिएका हुन् ।
अध्यक्ष ओली स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार मन्त्रिपरिषद्को बैठकमा समेत सहभागि भए ।
तर, कुराकानी गर्दा पनि खोकी लाग्ने र लगातार खोकी रहने समस्या देखिएपछि मन्त्रिपरिषद् बैठक छोट्याएर दश मिनेटमात्रै बसेको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा धेरै धपेडी भएका कारण यस्तो समस्या देखिएको हो । 

आइतबार मध्यरात खोकी बढे पनि प्रधानमन्त्रीले त्यसलाई सामान्यरूपमा लिएका थिए । तर, बिहान २ः३० बजे निजी चिकित्सक दिव्या सिंह शाह अमेरिकाबाट फर्किएलगत्तै बालुवाटार पुगेकी थिइन् । उनले भाइरल फ्लू र सिजनल फ्लूको आशंका गर्दा तत्काल अस्पताल भर्ना हुनेपर्ने बताएपछि प्रधानमन्त्री निवासबाट ३ः१५ बजे ‘मुभ’ भएको बालुवाटार स्रोतले जानकारी दियो ।

उनको स्वास्थ्य सोमबार साँझसम्म स्थिर रहेको र शरीरमा चिनीको मात्रामा थपघट अद्यावधि रहेको उपचारमा संलग्न चिकित्सकहरूको नेतृत्व गरिरहेको डा. अरुण सायमीले जानकारी दिए । “हामीले चिनीको मात्रामा सन्तुलन कायम राख्न औषधि चलाएका छौँ । उहाँको स्वास्थ्यमा पूर्णरूपमा सुधार आउन अझै तीनदिन लाग्छ,” उनको भनाइ थियो ।

उनले मौसमी रुघा–खोकीकै कारण प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बिग्रिएको जानकारी दिए ।प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. सायमीका अनुसार भाइरल ज्वरोका कारण छातीमा समस्या देखिएको बताए । उनले भने, “जुन कारणले प्रधानमन्त्रीज्यू भर्ना हुनुभएको हो । अहिले त्यसमा धेरै सुधार भएको छ । रिपोर्ट पनि राम्रो छ । छातीको समस्या भाइरल ज्वरोको कारणले हो । सुगर कन्ट्रोलका लागि औषधी दिइएको छ । अहिले प्रधानमन्त्रीज्यूको अवस्था स्थिर छ । अस्पतालमा हामीले अझै दुई तीनदिन राख्छौं ।”

आइतबार स्वास्थ्यमा सुधार आएको भनिएको तर सोमबार बिहान अस्पताल भर्ना भएको सुनेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका नेता– कार्यकर्ता त्रिवि शिक्षण अस्पताल परिसर पुगेका थिए । अस्पताल परिसरमा एक्कासी भीड बढेर अन्य बिरामीलाईसमेत अप्ठ्यारो पर्न थालेपछि प्रधानमन्त्रीको सचिवालयले भेट्न नआउन अनुरोध नै गरेको छ ।

तथापि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई भेट्न कार्यकर्ता एवम् सुभेच्छुकको ओइरो लागेको छ ।प्रधानमन्त्रीको स्वास्थ्यस्थितिका बारेमा कयौँको जिज्ञासा रहेको र अफवाहसमेत फैलिएको भन्दै उपचारमा संलग्न चिकित्सकहरूले मंगलबार बिहान १० बजे अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताएका छन् ।प्रधानमन्त्रीको उपचारमा तीन सदस्य समूह बनाइएको छ । जसको नेतृत्व प्रा.डा अरूण सायमीले गरेका छन् । त्यस्तै समूहमा उनका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दास रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top