'राष्ट्रपति भण्डारी कतार प्रस्थान' 

राजनीति कार्तिक १२ २०७५ ekhabarnepal
01

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको चार दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी छन् । दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पहिलो पटक राष्ट्रपति हुँदा उनले भारत, श्रीलंका, स्वीट्जरल्याण्ड र युनाईटेड अरब इमिरेट्सको भ्रमण गरेकी थिइन् । 
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् । प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य भने आइतबार नै कतार प्रस्थान गरिसकेको परराष्ट्रले जनाएको छ । आइतबार नै कतार प्रस्थान गर्ने राष्ट्रपतिको प्रतिनिधिमण्डलका सदस्यमा २ जना नेपाली सेना, एक जना परराष्ट्र मन्त्रालय र २ जना राष्ट्रपति कार्यालयका कर्मचारी छन् । 

सोमबार राष्ट्रपतिसँगै कतार प्रस्थान गर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत छन् । 
कतारका अमिर शेख तामिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन् । भ्रमणको बेला मंगलबार राष्ट्रपति भण्डारी र कतारका अमिर थानीबीच उच्चस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–कतार सम्बन्धका सबै मुद्दाहरुमा छलफल गरिने बताइएको छ । बैठक सकिएपछि राष्ट्रपति भण्डारीको सम्मानमा कतारका अमिरले भोजको आयोजना गर्नेछन् । 
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका बेला कतार फाउण्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन् । कतारका अन्य उच्चस्तरीय पदाधिकारीले पनि राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मंगलबार ‘नेपालमा व्यापार र लगानीको अवसर’ विषयक एक अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने जनाइएको छ ।
कतारमा रहँदा राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दूतावासको अवलोकन गर्नेछिन् । त्यहाँ उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कतार पुगेकै दिन सोमबार दूतावासले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको आयोजन गर्नेछ । 
राष्ट्रपतिको कतार भ्रमणका बेला नेपाल र कतारबीच भिसा र कृषिसम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले यसको टुङ्गो लगाउने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top