छातीमा समस्या देखिएपछि 'प्रधानमन्त्री ओली अस्पतालमा  भर्ना' 

राजनीति कार्तिक १२ २०७५ ekhabarnepal
Oo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।  राति उनलाई रुघा खोकी बढेपछि बिहान साढे ३ बजे अस्पताल लगिएको थियो । 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको हो । उनलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ । बिहानपख प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीलाई बिहान अस्पताल लगिएको हो ।


सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा सीसीयूमा राखेर उपचार भइरहेको छ । 

प्रधानमन्त्रीलाई रुघाखोकीसँगै ज्वरो पनि आएको थियो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले शनिबार आयोजना गरेको चियापान समारोहमा पनि उपस्थित हुन सकेनन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा करिब १० मिनेटमात्रै सहभागी भएका थिए ।

तर आइतबार प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रेस नोट जारी गर्दै स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका थिए । उनले जारी गरेको विज्ञप्तिमा मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अवस्थ  भएका कारण चिकित्सकको सल्लाहबमोजिम विगत दुईदिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरेको उल्लेख गरिएको थियो । सचिवालय स्रोतका अनुसार उनको अवस्था सामान्य छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top