बुटवल ब्लास्टर्सको धक्का 'पोखरा पल्टनलाई'

खेल कार्तिक ११ २०७५ ekhabarnepal
000

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्सले घरेलु मैदानमा पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको छ । पोेखरा रंगशालामा आइतबार भएको खेलमा बुटवलले दिएको १५१ रनको लक्ष्य पछ्याएको पोखरा पल्टनले २० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर ११७ रनमात्रै बनाउन सक्यो । 

टि—ट्वान्टी फर्म्याटमा मध्यमस्तरको लक्ष्य पाएको पोखराका लागि आसिफ शेखले २० रन बनाउनु बाहेक कसैले पनि उनलाई भेट्टाउन सकेनन् । राष्ट्रिय टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर कप्तान रहेको पोखरा पल्टन अन्य टोली भन्दा राम्रो मानिए पनि बुटवल ब्लास्टर्ससँग भने धक्का खान पुगेको छ । पोखराले ११७ रन बनाउने क्रममा कप्तान शरद भेषवाकर १९ बनाएर आउट भए ।
पोखरालाई सस्तैमा समेट्न बुटवल सुरुआतदेखि नै राम्रो लयमा थियो । बुटवलको बलिङ अन्तिमसम्म एकै लयमा रह्यो भने ४ जना खेलाडीले समान २—२ विकेट लिए । जसमा कप्तान सोमपाल कामी, रोहन मुस्तफा, राशिद खान, विपीन कार्कीले समान दुई—दुई विकेट लिए भने सागर पुनले एक विकेट लिए । 

यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको बुटवलका लागि भिम सार्कीले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए । त्यस्तै, युएईका मुस्तफाले ४५ रन बनाए भने कप्तान सोमपाल कामीले २२ रन बनाउँदा सिद्धान्त लोहनीले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, टस हारेर फिल्डिङ गरेको पोखरा पल्टनले बुटवललाई १५० रनमा रोक्न मोहमद नाभिदले ३ विकेट लिएका थिए भने शरद भेषवाकर, ललित नारायण राजवंशी र मेहबुब आलमले समान एक—एक विकेट लिएका थिए ।सोमबार बिहान विराटनगर टाइटन्स र काठमाडौं रोयल्सबीचको खेल हुनेछ भने दिउँसो सवा १ बजे चितवन राइनोज र पोखरा पल्टनबीचको खेल हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top