निम्न सात कमजोरी र लापरवाहीका कारण 'एसपी विष्ट र इन्स्पेक्टर भट्टको बर्खास्त'    

समाज कार्तिक ११ २०७५ ekhabarnepal
 0 0 09

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानलाई जोडेर एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई सरकारी सेवामा आगामी दिनमा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ ।विष्ट नेतृत्वको कञ्चनपुर प्रहरीका विभिन्न ७ कमजोरी र लापरवाहीका कारण उनीहरु सेवाबाट बर्खास्त हुनुपरेको हो ।
कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख (एसपी) र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर भट्टलाई अनुसन्धानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकाल्दै सेवाबाट बर्खास्त गरिएको हो । 

गृह सचिवस्तरीय निर्णयबाट प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क) को कसूरमा नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरि बर्खास्त गरिएको हो । 

गत साउन १० गते घरबाट साथीको घरमा जान हिँडेकी निर्मला साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । यसअघि कञ्चनपुर घटनाको अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले पनि अनुसन्धानमा प्रहरीको भूमिका गैरजिम्मेवार भएको निष्कर्ष निकाल्दै कारवाहीका लागि सिफारिस गरेको थियो । 

प्रहरी प्रधान कार्यालयले पनि एआईजी धिरु बस्न्यातको नेतृत्वमा प्रहरीमाथी नै अनुसन्धान गर्न टोली गठन गरेको थियो । त्यही टोलीको अनुसन्धानका आधारमा प्रहरी प्रधान कार्यालयले विष्ट र भट्टलाई बर्खास्त गर्नका लागि असोज २९ गते सिफारिस गरेको थियो । कात्तिक ४ गते र ८ गते गृहले विष्ट र भट्टलाई दुईपटकसम्म २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा चित्त नबुझेपछि उनीहरुलाई विभिन्न ७ कमजोरी र लापरवाही औंल्याउँदै सेवाबाट बर्खास्त गरिएको छ । 

उनीहरु अदालती प्रक्रियामा जाने तयारीमा रहेका छन् । गृह मन्त्रालयले विष्ट र भट्टमाथि उच्चस्तरीय छानबिन समितिले औंल्याएका बुँदाहरुकै आधारमा कारवाही गरेको जनाएको छ ।

यस्ता छन् ७ लापरवाही र कमजोरी 

१– प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा सो घटनामा सम्वद्ध प्रहरी कर्मचारीबाट चरम लापरवाही, गैर व्यवसायीक र गैर जिम्मेवारपूर्ण व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानुनी व्यवस्थासमेत पालना नभएको तथ्य फेला परेको छ । निर्मला हत्याकाण्ड चर्किँदै गएपछि आईजीपी सर्वेन्द्र खनाल आफैँ घटनास्थल, निर्मलाको घर र स्थानीयसँगको अन्तरक्रियामासमेत सहभागी थिए । 

२– तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरवाही गरिएको अरोप छ । साउन १० गते साँझ नै निर्मला घर नआएपछि आफन्तले खोजतलासका लागि आग्रह गर्दा प्रहरीले ‘आज राति भयो भोलि खोजौला’ भन्दै टारेको थियो । साउन ११ गते बिहान निर्मला मृतअवस्थामा उखुबारीमा फेला परेकी थिइन् । साउन १० गते प्रहरीले देखाएको उदासिनता उनीहरुकै लागि बर्खास्तीको अर्को कारण थियो ।

३– बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्रहरु पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालेको तथा उक्त वस्त्र नै लोप भएको भनिएको छ । उखुबारीमा निर्मलाको शव फेला परेपछि उनको सुरवाल एक खुट्टाको खोलिएको थियो भने अर्को आधा सरेको थियो । प्रहरी जवान चाँदनी साउदले निर्मलाको त्यो सुरवाल खोलेर पखालेकी थिइन । उनी हाल निलम्बनमा छन् । तर उनले आफूले कसैको आदेशमा सुरवाल नपखालेको बयान दिएकी छन् । 

४– तत्काल नेपालमै नरहेका मृतकको बाबुको दस्तखत गराइएको थियो । प्रहरीले घटनास्थल मुचुल्कामा उनका बाबु यज्ञराज पन्तको हस्ताक्षर र ल्याप्चे लगाएको थियो । साउन ११ गतेसम्म यज्ञराज पन्त कान्छी श्रीमतीसहित भारतमा थिए । यज्ञराजले ल्याप्चे र हस्ताक्षर आफ्नो नभएको बताउँदै आएका छन् । 

५– मृतकको शव अन्त्येष्टि गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको । निर्मलाका हत्याराको पहिचान नउठाएसम्म स्थानीयवासी आन्दोलित भए । आन्दोलन चर्कँदै गएपछि जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर तत्कालीन एसपी विष्टले भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र विष्टकै अगाडी लाश बुझेर अन्त्यष्टि नगरे कफ्र्यु लगाएर आन्दोलनमा गोली चलाइदिने चेतावनी दिएको यज्ञराज पन्त बताउँछन् ।

६– सुरक्षा कारबाहीको सिलसिलामा अपनाउनुपर्ने सिद्धान्त नअपनाइएको । स्थानीयको आन्दोलन चर्किँदै गएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाउनुपूर्व वा बल प्रयोग गर्नुपूर्व भीडलाई पूर्व सूचना–चेतावनी दिने, माइकिङ गर्ने लगायतका कार्य गर्नुपर्छ । त्यसो नगरिकन प्रहरीले बल प्रयोग गरेको पाइएको निष्कर्ष मैनाली नेतृत्वको समितिले पनि निकालेको थियो । 

७– प्रहरीकै व्यवहार र कार्यशैलीका कारण आम नागरिक तथा पीडित परिवारका सदस्यहरु प्रहरीको काम कारबाहीप्रति विश्वस्त हुन नसकेको । प्रहरीले समयमै सक्रियता नदेखाउँदा स्थानीयहरु आक्रोशित हुँदै गएका थिए । प्रहरीले मुख्य अभियुक्तका रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपछि स्थानीय प्रहरीले वास्तविक हत्यारालाई बचाउन लागेको भन्दै आन्दोलित बने । प्रहरीले दिलिपलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि डीएनए ‘म्याच’ नगरेपछि उनी थुनामुक्त भए ।  

प्राप्त प्रतिकृयाहरू

To Top