प्रदेश सदस्य चयन र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा थापा र पौडेललाई

राजनीति कार्तिक ८ २०७५ ekhabarnepal
Uml 2

 

  काठमाडौँ कार्तिक ८

 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय कार्यसमितिको जिम्मेवारी तोक्न र प्रदेश सदस्य चयनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ।

 बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेशको एकता टुंग्याउन र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिनका लागि दुईवटा कार्यदल निर्माण गरेको हो। कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेका छन्।

बैठकपछि पत्रकारहरुँग कुरा गर्दै महासचिव पौडेलले बैठकले प्रदेश सदस्यहरुको टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने जिम्मा दुई सदस्यीय कार्यदललाई दिएको बताए।

पार्टीले यसअघि नै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयन गरे पनि नेताहरु माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले फरक मत राख्दै आएका छन्।

त्यस्तै कार्यविभाजन नहुँदा थुप्रै केन्द्रीय सदस्यहरु अन्योलमा रहेको र नेकपाको धेरैजसो काम सचिवालयबाट मात्रै हुँदै आएको भन्दै केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

थापा र पौडेल सदस्य रहेको प्रदेश सदस्यको छनौट गर्ने र केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको सूचि सचिवालयमा पेस गर्ने र सचिवालयले त्यसलाई अन्तिम रुप दिने महासचिव पौडेलले जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

To Top