नवनियुक्त अमेरिकी राजदूत 'बेरी'ले बुझाए आफ्नो ओहोदाको प्रमाणपत्र

समाज कार्तिक ८ २०७५ ekhabarnepal
Mmmmm

काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत रयान्डी बेरीले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । बिहीबार शीतल निवासमा आयोजित एक समारोहबीच उनले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपतिलाई बुझाएका हुन् । “नयाँ भू्मिकामा नेपाल फर्कन पाउँदा मलाई ज्यादै खुसी लागेको छ,” ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत बेरीले भने, “नेपाल र अमेरिकाबीचको मित्रतालाई थप मजबुत बनाउन म उत्सुक छु र मलाई आशा छ हामीहरुको कूटनीतिक संलग्नताले हाम्रा दुई देशबीच जारी रहँदै आएको साझेदारी तथा सहकार्यलाई प्रवद्र्धन गर्नेछ ।” 

नवनियुक्त राजदूत बेरीले यसअघि नेपालमा काम गरिसकेका छन् । उनले सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि काठमाडौंस्थित अमेरिकी दूतावासमा उपनियोग प्रमुख भएर काम गरेका थिए । 
बेरी सन् १९९३ मा अमेरिकी कूटनीतिक सेवामा प्रवेश गरेका थिए । उनले अमेरिकी विदेश मन्त्रालयको विभिन्न पदमा रहेर २० वर्षभन्दा बढि समय बिताइसकेका छन् । पछिल्लो समय उनी वाशिङ्टन डी.सी. मा लोकतन्त्र, मानव अधिकार तथा श्रमसम्बन्धी ब्यूरोमा दक्षिण तथा मध्य एसियाका लागि उप सहायक सेक्रेटरी थिए । त्यसअघि उनी एलजीबीटीआई व्यक्तिहरुको मानव अधिकार सम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रथम विशेष दूतका रुपमा नियुक्त भएका थिए । उनीसँग न्यूजिल्याण्डको अकल्याण्डस्थित अमेरिकी महावाणिज्य दूतावास महाबाणिज्यदूत र नेदरल्याण्ड्सको एमसटरडयामस्थित अमेरिकी महावाणिज्य दूतावासमा उप महावाणिज्यदूत भई काम गरेको अनुभव समेत रहेको छ । कूटनीतिक कर्मचारीको रुपमा बंगलादेश, इजिप्ट र युगाण्डास्थित अमेरिकी दूतावासमा विभिन्न पदमा रहेर काम गरेका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top