निर्मला हत्या प्रकरण :एसपी विष्ट र इन्स्पेक्टर भट्टले बुझाए यस्तो स्पष्टीकरण,बुझनुहोस्

समाज कार्तिक ८ २०७५ ekhabarnepal
76877

काठमाडौं । सरकारले निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधेको छ ।

उनीहरुले बुधबार नै गृह मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरणमा आफूहरुले कुनै लापरवाही नगरेको बताएका छन् । लिखित रुपमा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुलाई बर्खास्त गर्ने तयारी सरकारले गरेको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसका आधार विष्ट र भट्टले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।गृहसचिव स्तरीय निर्णयबाटै उनीहरुलाई वर्खास्त गर्न सकिने स्रोतले जनाएको छ ।

यसअघि गृहले विष्ट र भट्टलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । उनीहरुले दुवैले प्रहरी प्रधान कार्यालय मार्फत गृहमा स्पष्टीकरण दिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको स्रोतले जानकारी दियो ।

गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । उनको  बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निर्मला हराएको भन्दै साउन १० गते साँझ नै वडा प्रहरी कार्यालयमा खबर गर्दा प्रहरीले ‘भोलि खोजौंला’ भन्दै टारेको निर्मलाका आफन्तले आरोप लगाउँदै आएका थिए ।

तत्कालीन समयमा इन्सपेक्टर भट्ट नै वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख थिए । यसअघि सरकारद्वारा गठित समितिले पनि निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेको निष्कर्ष  निकालेको थियो । निर्मला हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्तनगर १९ का दिलिपसिंह विष्टलाई सार्वजनिक गरेपछि उनको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा रिहा भएका थिए । 

दिलिपलाई मुख्य नक्कली अभियुक्तको रुपमा सार्वजनिक गर्ने सीआईबीका डीएसपी अंगुर जिसीको पनि प्रमुख भूमिका रहेको प्रहरी स्रोत बताउँछ । जिसीसहित ६ जना प्रहरी हाल निलम्बनमा छन् ।  निर्मला हत्या प्रकरणमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले प्रमाण लुकाउन खोजेको आरोप स्थानीयले लगाउँदै आएका छन् ।  

प्राप्त प्रतिकृयाहरू

To Top