सिद्धबाबामा सुरुङको डिपिआर बनाइदिन स्वीटरल्याण्ड सरकारलाई आग्रह

समाज कार्तिक ७ २०७५ ekhabarnepal
Surung marga nepal


 
काठमाडौं,कार्तिक ७। सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का लागि सरकारले स्वीटरल्याण्ड सरकारलाई आग्रह गरेको छ। केही दिनअघि अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले डिपिआर तयार गरिदिन आग्रह गर्दै स्विस सरकारलाई पत्राचार गरेको हो। 

स्वीट्जरल्याण्डले नै यो सुरुङ मार्गको पूर्वसंभाव्यता अध्ययन गरेको थियो। 'यो सुरुङका लागि उहाँहरुले ६ वटा विकल्प दिनुभएको छ, अब डिपिआर बनाउन पनि उहाँहरुलाई नै आग्रह गरेका छौँ,' महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले भने। 

वर्षायाममा पहिरोका कारण अवरुद्ध भइरहने र असुरक्षित बन्ने गरेको भन्दै सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट बक्तव्यमा पहिलोपटक यो राजमार्गमा सुरुङ निर्माणका लागि बजेट राखेको थियो। 

सरकारले योसहित अन्य ५ सुरुङ मार्ग निर्माणका लागि डिपिआर बनाइदिन स्विस, जापान र चीन सरकारलाई आग्रह गरेको छ। नेपालका अनुसार गणेशमान सिंह मार्गको पालुङ खण्ड, काठमाडौंको कोटेश्वर, बिपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट, टोखा-छहरे र दिपायल जोड्ने बिपीनगर मार्गमा सुरुङ निर्माण गर्न विस्तृत प्रतिवेदन तयार गरिदिन आग्रह गरेको हो। 
 
 

प्राप्त प्रतिकृयाहरू

To Top