प्रदेश समिति गठनको निर्णय सदर,प्रवक्ताको राजीनामा अस्वीकृत

राजनीति कार्तिक ५ २०७५ ekhabarnepal
Uml

 

काठमाडौँ,कार्तिक ५ 
असन्तुष्टको आवाज आगामी दिनमा सम्बोधन गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)‌ले प्रदेश समिति गठनको निर्णयलाई सदर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने पूर्ववत् निर्णयलाई यथावत् राख्ने निर्णय गरेको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेता माधव नेपाललगायतले उठाएका विषयलाई आउँदा दिनमा ध्यान दिनेगरी प्रदेश कमिटी गठनसम्बन्धी निर्णयलाई निरन्तरता दिने निष्कर्ष निकालिएको छ।

आफू विदेश भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालले एकलौटी प्रदेश कमिटी गठन गरेको भन्दै नेता नेपालले लिखित असहमति जनाएका थिए।

नेकपाले पूर्वएमाले र पूर्वमाओवादी पक्षबाट २/२ जनाको भागबन्डा गरी गत असोज ५ गते प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी मुख्य चारवटा पदमा जिम्मेवारी तोकेको थियो ।
बैठकले प्रवक्ता श्रेष्ठले दिएको राजीनामासमेत अस्वीकृत गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद भएपछि नेकपाका प्रवक्ता श्रेष्ठले गत साउन पहिलो साता राजीनामा दिएका थिए । श्रेष्ठले केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन ठीक रहेको बताएका थिए ।

जिल्ला तह र जनसंगठन एकीकरणको विषयमा छलफल गर्न पर्सि ७ गते दिउँसो १ बजेलाई पुन: नेकपा सचिवालय बैठक बोलाइएको छ । आइतबार बसेको बैठक भने सांसद रामवीर मानन्धरले दिएको राजीनामा स्वीकृति पत्र अस्वीकृतको निर्णय गर्दै सकिएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top