संसारकै दुर्लभ मानिने असला माछा विदेशमा कोशेली

समाज कार्तिक ५ २०७५ ekhabarnepal
Fish


 रासस

खोटाङमा असला माछा मार्न रोक 

बागलुङ, कात्तिक ५ गते । विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ ।

सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ ।

गलकोट नगरपालिका–७ मल्मकी उषा पौडेलले अमेरिकामा बस्ने दिदीका लागि यसपालि सोही माछा कोशेलीका रुपमा छान्नुभयो ।

सुकाएको माछा किन्दा भाउ भने महँगो पर्न गएको उहाँको भनाइ छ । व्यवसायीले पनि विदेशमा कोशेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउने गर्छन् । “बढीजसो कोशेलीकै रुपमा बिक्री हुन्छ” स्थानीय व्यवसायी बाबुराम केसीले भन्नुभयो, “पोखरा, काठमाडौँ जस्ता ठाउँमा पनि जान्छ ।”

आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटीको रुपमा बेच्ने गरिएको उहाँको भनाइ छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु ८०० देखि एक हजारसम्म छ । आलोको भाउ बढेसँगै वर्षेनी ‘सुकुटी माछा’ को भाउ पनि बढ्दै गएको छ । अर्का व्यवसायी कृष्णकुमारी केसीका अनुसार दुई वर्षअघिसम्म रु पाँच हजार पर्ने माछा अहिले रु सात हजारसम्म पुगेको छ । चार वर्षअघि जम्मा रु तीन हजार मूल्य थियो ।

गाउँमा भन्दा विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुन्छन् । छुट्टिमा नेपाल आएकाले विदेश फर्कदा माछा कोशेली लिएर जाने चलन नै बसेको छ । व्यवसायीका अनुसार धेरै लानेमा जापानमा बस्ने छन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याइ छ ।

गलकोट नगरपालिका–७, ८ र ९ मा दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफैँ सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने कसैले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् ।

माछा मार्ने जलारी, स्थानीय सरोकार भएका पक्षको निर्णयबाट खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृत रुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ ।

दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मारेर नै धानिएको छ । असला माछाका परिकार उपलब्ध गराउने स्थानीय होटल–रेष्टुराँले पनि यथेष्ट आम्दानी गर्दै आएका छन् । केही वर्षअघि गायक वसन्त थापा र गायिका नीता पुनमगरले ‘माछा मीठो असला दरमखोलाको’ बोलको गीत बजारमा ल्याएका थिए । 

 
उता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले भने स्थानीय खोलामा पाइने संसारकै दुर्लभ मानिने असला माछा  मार्न रोक लगाएका छन् ।
खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै  समुदायले त्यस्तो कदम चालेको हो ।

 लोप हुन लागेको असला माछा संरक्षणका लागि समिति  बनाएर काम शुरु भएको छ । संरक्षण समितिले पहिलो पटक माछा मारेको भेटे रु पाँचदेखि १० हजार, दोस्रो पटक रु १० देखि २० हजार र तेस्रो पटक रु २० देखि तीस हजार नगद जरिवानासहित कानूनी कारबाही गर्छ ।

 स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top