रामवीर राजीनामाबारे पार्टी तहमा छलफल भएकै छैन

राजनीति असोज २७ २०७५ ekhabarnepal
Ishwor pokhrel 2

 

काठमाडौँ,अशोज २७ – उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले काठमाडौँ–७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन खोजेको तथा त्यससँग जोडिएर आएका विषयमा औपचारिक रुपमा आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

घुमाउरो रुपमा सामाजिक सञ्जाल मार्फत रामवीरले राजीनामा दिने तयारी गरेको बारे आफ्नो धारणा प्रस्तुत गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहेका पोखरेलले शनिबार काठमाडौँमा पत्रकारसँगको भेटघाटमा आफ्नो स्पष्ट धारणा प्रस्तुत गरेका हुन् । रामवीरलाई राजीनामा दिन लगाउने सम्बन्धमा पार्टीको शीर्ष नेतृत्व तहमा कुनै किसिमको छलफल नै नभएको उनले स्पष्ट पारेका छन् ।

रामवीरलाई पार्टीले नै राजीनामा दिन लगाएको भन्ने कुरा आइरहेका बेला उपप्रधानमन्त्री पोखरेलले भने, ‘यस विषयमा पार्टीको नेतृत्व तहमा कुनै पनि किसिमको छलफल भएको थिएन । रामवीर मानन्धर जीले राजीनामा दिनका लागि स्वीकृति माग गर्दै पेश गरेको पत्रमाथि औपचारिक छलफल पनि भएको छैन । राजीनामा दिन लगाएको भन्ने सबै हल्ला मात्रै हो ।’

तत्कालिन एमालेका महासचिव समेत रहेका पोखरेलले पार्टी जनमतको जुनसुकै हालतमा कदर गर्ने पक्षमा रहेको र रामवीरलाई राजीनामा दिन लगाइएको भन्ने भ्रम मात्रै रहेको दाबी गरे ।

बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा लैजाने माध्यमका रुपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा रामवीरलाई राजीनामा दिन लगाइएको भन्ने कुरा आइरहेका बेला पोखरेलले पार्टी नेतृत्वमा यसबारे कुनै छलफल नभएको स्पष्ट पारेका हुन् ।

सर्वत्र विरोध भएपछि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि रामवीरको राजीनामाका लागि स्वीकृति नदिने पक्षमा पुगिसकेका छन् । यहि बिचमा दसैँको शुभकामना दिनका लागि भन्दै गरिएको पत्रकारसँगको भेटघाटमा उपप्रधानमन्त्री पोखरेलले रामवीर प्रशंगसहित अरु आन्तरिक विवादका बारेमा पनि बोलेका हुन् । उनले सामाजिक सञ्जालमा आफूले प्रस्तुत गरेको विचारलाई कसैको पक्ष वा विपक्षमा लागेको रुपमा बुझ्न नमिल्ने पनि बताए ।

उनले भने, ‘पार्टी भित्र केही समूहको लय मिलेको छैन, यसको कारण तर्क नमिल्नु नै हो । गाउन तथा नाच्न नजान्नेहरुले यस्तो गरेका हुन् । लय मिलाउनु पर्ने भएको छ ।’


उनले पार्टीमा आन्तरिक विवाद सिर्जना गर्ने नेताहरु तर्फ संकेत गर्दै भने, ‘लामो समयपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुँदै थियो तर केही कुरामा चित्त बुझेन भन्दैमा त्यसलाई हल्लाउने प्रयास गरिएको छ । यसो गरिनु हुँदैन भन्ने मेरो मान्यता छ ।’

यस्तै पार्टी सचिवालय बैठक सर्नुको कारण रामवीरको राजीनामा प्रशंगा वा पार्टी भित्रको आन्तरिक विवाद नरहेको पनि उनले दाबी गरे । पार्टीका प्रदेश कमिटिलाई काम गर्न केही समय दिनका लागि बैठक सारिएको र ती कमिटिबाट प्रतिवेदन आउने समय मिलाइएको उनले दाबी गरेका हुन् ।

यसैगरी उपप्रधानमन्त्री पोखरेलले सरकारले काम नगरेको भन्ने गुनासोका बारेमा उनले भने, ‘सबै सिस्टम कमजोर भएका बेलामा सत्तामा आएका थियौँ । अहिले सिस्टम बलियो बनाउने काम भएको छ । कानुन थिएनन्, कानुन बनिरहेका छन् । प्रदेशका संरचनाहरु बनिरहेका छन् । काम नभएको होइन, खाली अवस्थामा आएकाले भर्न केही समय लागेको हो ।’

तर सरकारका तर्फबाट भएका केही कमिकमजोरी सच्याउन बाँकी रहेको वा पर्ने उनले बताए । यसैगरी सामाजिक तथा धार्मिक सद्भाव खलल गर्ने तत्वसँग जुध्नु पर्नेमा पनि उनले जोड दिए । विखण्डनकारी जो कोही भए पनि आफूहरु कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।

उनले दसैँसहितका चाडपर्वले सद्भाव ल्याउने भएकाले यसलाई उत्सवको रुपमा मनाउनु पर्ने र सँगै विखण्डनकारी नखेलुन् भन्नका लागि सजग हुनु पर्ने पनि बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top