विश्वको सर्वोच्च शिखर 'सगरमाथाको उचाइ पुनः नापजाँच गरिँदै' 

समाज असोज २२ २०७५ ekhabarnepal
Sagarmatha 467484

काठमाडौं । नेपालको गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिन्छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुन सक्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् ।

सगरमाथाको उचाइबारे नेपाल र चीनको धारणा पनि छुट्टाछुट्टै छ ।  तर, वास्तविकता के हो भन्ने बारेमा अहिले नेपाली इन्जिनियरहरु यसको नापजाँचमा लागिरहेका छन् । निष्कर्ष निस्कन भने अझै १ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ ।
नापी विभागका अनुभवी इन्जिनियरहरुको एउटा टोली अहिले मापन कार्यमा लागि रहेको छ ।चिफ सर्भे अफिसर तथा सगरमाथाको मापन कार्यमा संयोजक रहेका सुशील डंगोलले बाह्रखरीसँग भने, “हामीले अघिल्लो वर्ष लेभलिङ्गको काम सक्यौं । यसपालि ग्राभिटी मोनुमेन्टको काम गर्दैछौं । सन् २०१९ को डिसेम्बरसम्ममा यसको अन्तिम नतिजा आउनेछ ।’’
उनका अनुसार भारतका तर्फबाट पनि यसको मापनको पहल भएपनि नेपाल आफैंले काम अघि बढाएको हो । 

‘‘हामी आफैं यो कामका लागि सक्षम छौं । मापन टोलीले बजेट जम्मा २५ करोड मागेको छ । अघिल्लो वर्ष र अहिलेसमेत गरी कूल १७ करोड बजेट छुट्टिएको छ । अहिले रकम अभाव छैन ।’’ सन् १९५५ मा सर्भे अफ इण्डियाले यसको मापन गरेर अहिले मानिँदै आएको उचाइ पत्ता लगाएको हो । 

२०७२ साल वैशाख १२ को भूकम्पपछि यसको उचाइमा असर गर्‍यो कि भन्ने आम अनुमानलाई तथ्यमा आएर निष्कर्ष निकाल्नका लागि सगरमाथाको मापनको प्रक्रिया अघि बढाइएको हो ।यसअघि चीनका तर्फबाट गरिएको एक अध्ययनमा सगरमाथाको उचाइ घटेर ८ हजार ८ सय ४४ मिटर भएको बताइएको थियो भने नेसनल जोग्राफिकले गरेको अध्ययनमा यसको उचाई ८ हजार ८ सय ५० मिटर अर्थात बढेको बताइएको थियो । 

सर जर्ज एभरेष्ट भारतको सर्भेयर जनरल हुँदा सगरमाथाको उचाइ मापन गरिएको हो । पहिला  शिखरको उचाइबाट जमिनमा बन्ने कोणको आधारमा मापन गर्ने गरिएकोमा पछिल्ला समयमा सर्भेयरहरुले ग्लोबल पोजिसनिन सिस्टम (जीपीएस) को आधारमा शिखरको मापन गर्ने गरेका छन् । सयोजक डंगोलले नापी विभागको एउटा टोली अहिले स्थलगत रुपमा नै खटिएको जानकारी दिए ।  

प्राप्त प्रतिकृयाहरू

To Top