भारतलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश 

खेल असोज २० २०७५ ekhabarnepal
Nn4

काठमाडौं असोज २०,
 भारतलाई पराजित गर्दै नेपाल भुटानमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 
शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा निर्धारित समयसम्म १–१ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । 
जसमा नेपालले ३–१ ले बाजी मार्यो । नेपालकी गोलरक्षक अन्जना रानामगरले भारतका दुई प्रहार रोकेकी थिइन् भने एक प्रहार बाहिरिएको थियो । नेपालको एक प्रहार बाहिरिएपनि रेखा पौडेल र अन्जनाले गोल गरेका थिए । यसअघि खेलको सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले निर्धारित समयसम्म भारतसँग १–१ को बराबरी खेल्नुपरेको थियो । खेलको १५ औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले भारतीय गोलरक्षकको गल्तीको फाइदा उठाउँदैे गोल गरेकी थिएन् । अग्रतापछि आक्रामक बनेको नेपालले पहिलो हाफमा भारतलाई निकै दबाबमा राखेको थियो । दोस्रो हाफमा भारत आक्रामक बनेपनि नेपालकी गोलरक्षकले शक्तिशाली प्रहार रोकेकी थिइन् । 

तर ६२ औं मिनेटमा भारतकी समीक्षाले फ्रि किकमार्फत बराबरी गोल फर्काइन्। बराबरीपछि दुबै टोलीले आक्रामक खेलेपनि गोल हुन सकेन । निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा नेपालकी गोलरक्षक अन्जनाले उत्कृष्ट प्रदर्शन गरिन् । समुह बीको उपबिजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले अब उपाधिका लागि भुटान र बंगलादेशबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।  

प्राप्त प्रतिकृयाहरू

To Top