सरकारको प्रतिबद्धता अनुसार नै वृद्वभत्ता बढाउँछ 

राजनीति असोज १६ २०७५ ekhabarnepal
099678

काठमाडौँ असोज १६,
 कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले आफ्नो घोषित प्रतिविद्वता अनुरूप नै ज्येष्ठ नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बृद्वि गर्ने बताउनुभएको छ । 

२८ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक चौतारीले काठमाण्डौको विशाल मिलन केन्द्रमा आयोजना गरेको ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै रक्षा मन्त्री पोखरेलले वृद्ध भत्तालाई पाँच पुर्‍याइछाड्ने बताउनुभयो । ‘हामीले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउँछ’–उहाँले भन्नुभयो–‘निर्वाचन प्रतिवद्व ता अनुसार यो वर्ष ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता नबढाएकोले कसैकसैले कम्युनिष्ट सरकारले झुक्कायो समेत भने तर कुरा त्यस्तो होइन । हामीले यही सरकारको कार्यकालमै पाँच हजार सामाजिक भत्ता पुर्याउँछौ ।’ उहाँले यस वर्ष ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता बढाउन नसके पनि स्वास्थ्य बिमा गरिएको जानकारी गराउनुभयो । 


कार्यवाहक प्रधानमन्त्री पोखरेलले ज्येष्ठ नागरिकलाई दसैमा पनि केही दिन सकिन्छ भनेर सरकारले छलफल अगाडि बढाइरहेको खुलासा समेत गर्नुभयो । कम्युनिष्ट सरकारको पालादेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भनेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको भन्दै उहाँले ज्येष्ठ नागरिकको रेखदेखका लागि सरकार गम्भीर भएको बताउनुभयो । सरकारले धेरै कुरा एकै पटक गर्दा लय नमिलेको भन्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले लय मिलाएर देश बनाउने अभियानमा सरकार लागिपरेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई सम्मान गरे मात्र अहिलेको समाज बन्ने समेत उहाँको भनाई रहेको थियो । 
ज्येष्ठ नागरिक चौतारीका हरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले लामो जीवन व्यतित गरेको ज्येष्ठ नागरिकलाई सरकारले सम्मान गर्ने बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक निर्मला आचार्य, विश्वनारायण महर्जन र प्रियकुमारी सेढाईलाई सम्मान गरिएको थियो ।   

प्राप्त प्रतिकृयाहरू

To Top