चाडपर्व लाई लक्षित गरि यातायात क्षेत्रको'सुरक्षा योजना'सार्वजनिक

समाज असोज १२ २०७५ ekhabarnepal
Niyam 9806572

काठमाडौं । नजिकिँदै गरेका दसैं, तिहार र छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक महाशाखाले यात्रु र यातायात क्षेत्रको सुरक्षा योजना सार्वजनिक गरेको छ । ‘सुरक्षित यात्रा’ नाम दिएर महाशाखाले दसैं, तिहार र छठ पर्व लक्षित योजना सार्वजनिक गरेको हो । 

महाशाखाले सार्वजनिक गरेको योजनामा विशेष चेकिङको व्यवस्था, मापसे चेकजाँचमा प्रभावकारी कडाइ, ओभरलोड र क्षमताभन्दा बढी यात्रु कोच्नेलाई कारबाहीलगायत विषय छन् । महाशाखाका एसएसपी वसन्तकुमार पन्तले भने, ‘‘उपत्यकाका सबैजसो टिकट काउन्टरमा सादा पोसाकका प्रहरी हुनेछन् । टिकटमा काजोबजारी रोक्नका लागि यस्तो योजना ल्याएका हौं ।’’ 

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी अत्यधिक दुर्घटना हुने भएकाले मुख्य सडकसँगै भित्रि सडकहरुमा पनि चेकजाँच कडा पारिने एसएसपी पन्त बताउँछन् । ‘‘लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्ने व्यवस्थाको कार्यान्वयन गर्दै मालवाहक सवारीसाधनमा यात्रु बोक्न रोक लगाउँछौं,’’ एसएसपी पन्तले बताए ।

उपत्यकाका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष राखिएको र त्यहाँ गएर आवश्यक सुझाव र गुनासो गर्न सकिने उनले बताए । उपत्यकामा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन हुने बताउँदै एसएसपी पन्तले चाडपर्वलाई व्यवस्थित, मर्यादित र यात्रा गर्दा सुरक्षित रुपमा अगाडि बढ्न सुझाव दिए । हाल काठमाडौं उपत्यकामा १४ सय ५० जना ट्राफिक प्रहरी कार्यरत रहेको महाशाखाले जनाएको छ ।
  

प्राप्त प्रतिकृयाहरू

To Top