दिनानुदिन किन 'बढदैछ लैङ्गिक हिंसा'   

समाज असोज १२ २०७५ ekhabarnepal
Download %281%29567568

काठमाडौँ असोज १२, 
  पछिल्लो पाँच महीनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ ।

विसं २०७५ वैशाखदेखि भदौ महीनासम्म जबजस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार ४१७ र अवैध गर्भपतन १० वटा घटना प्रहरीकहाँ दर्ता भएका थिए । 

प्रतिनिधिसभा, महिला र सामाजिक समितिको बिहिबारको  बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सो जानकारी दिँदै लैङ्गिक हिंसाका घटनामा वृद्धि हुनु चिन्ताको विषय रहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसा अन्त्य गर्न प्रतिनिधिसभाले पारित गरेका सङ्कल्प प्रस्तावलाई कार्यान्वयनमा उतार्न मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै यसका विरुद्ध अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सातवटै प्रदेशका सबै स्थानीय तहमा पुग्ने गरी यही असोज २० गते कञ्चनपुरबाट अभियानको शुभारम्भ गरिनेछ । अभियानमा लैङ्गिक हिंसाविरुद्धका सचेतनाका कार्यक्रम सञ्चालन गरिने छ । बैठकमा सांसद नारायण खतिवडाले लैङ्गिक हिंसाविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न आवश्यक रहेको चर्चा गर्दै हिंसा गर्नेमाथि कडा कारवाही गरिनुपर्छ भन्नुभयो । सांसद गणेश ठकुन्नाले केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहबाट समन्वय गरी लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुने सुझाव दिनुभयो । सांसद कृष्ण राईले सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरण गर्न लैङ्गिक हिंसाविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद गङ्गा चौधरीले आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने नैतिक शिक्षामा कमी हुन जाँदा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएकोतर्फ ध्यान दिन आग्रह गर्नुभयो । समितिका सभापति निरु पालले लैङ्गिक हिंसाविरुद्ध कार्ययोजना बनाई काम गर्नुपर्छ भन्नुभयो । 
रासस 

प्राप्त प्रतिकृयाहरू

To Top