राष्ट्रपति ट्रम्पले बताए 'द्वन्द्वको एकमात्र समाधान'

विश्व असोज ११ २०७५ ekhabarnepal
Tramp 97697560download

राष्ट्रसंघ असोज११,

राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वको एकमात्र समाधान दुई अलग राज्य निर्माण नै हुने बताउनु भएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूसँग राष्ट्रसंघमा भेटपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो । 

ट्रम्पले संवाददाताहरुसँग भन्नुभयो – मेरो विश्वास दुई राष्ट्रको निर्माण गर्नु हो, एउटा इजरायलीहरुका लागि र अर्को प्यालेस्टिनीहरुका लागि । विगतमा उहाँले यस विषयमा प्रष्ट धारणा सार्वजनिक गर्नुभएको थिएन । 

“मलाई दुई राज्य समाधान नै ठीक लाग्यो,” ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग तस्वीर लिँदै भन्नुभयो । “यही समाधानले राम्रो काम गर्लाजस्तो लाग्छ । यो मेरो अनुभूति पनि हो । अहिले तपाइँमा फरक अनुभूति पनि हुनसक्ला । तर मेरो विश्वास छ दुई राज्य समाधान नै उत्कृष्ट हो ।” 

राष्ट्रपति ट्रम्पले मध्यपूर्वको शान्ति योजना दुईदेखि चार महिनाभित्रै सार्वजनिक हुन सक्ने बताउनुभयो । प्यालेस्टिनीहरुले ट्रम्पको व्यवहार पक्षपातपूर्ण रहेको भन्दै कटु आलोचना गरिआएका छन् । ट्रम्पले गत वर्ष जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएको घटनाबाट प्यालेस्टिनीहरु निराश छन् ।

 रासस,एपी

प्राप्त प्रतिकृयाहरू

To Top