'साफ च्याम्पियन बन्ने लक्ष्य'का साथ महिला फुटबल टोली भुटान प्रस्थान

खेल असोज १० २०७५ ekhabarnepal
8966365356790 0

काठमाडौं । यु–१८ महिला फुटबल टोली साफ च्याम्पियन बन्ने लक्ष्यका साथ भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा आगामी शुक्रबारबाट सुरु हुन लागेको साफ च्याम्पियनसिपका लागि २३ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली भुटान प्रस्थान गरेको हो । सातोबाटोस्थित एन्फा कप्लेक्समा आयोजित बिदाइ कार्यक्रममा खेलाडीलाई सासंद निरु पाललगायत एन्फाका पदाधिकारीले बिदाइ गरे । कार्यक्रममा एन्फाका पदाधिकारीले उच्च मनोबलका साथ मैदान उत्रिन खेलाडीलाई सुझावसहित शुभकामना दिए । 


हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा करिब २ महिनाको प्रशिक्षणपछि नेपाली टोली भुटान गएको हो । सरु लिम्बूको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडी छन्, जसबाट फाइदा उठाउने नेपालको तयारी छ । नेपाली टोलीको गोलरक्षकमा कबिता राई, अन्जना राना मगर र उषा नाथ छन् । यस्तै, डिफेन्डरमा पूजा रानामगर, रोजिना श्रेष्ठ, निशा थोकर, सुष्मा महर्जन, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल र पुनम फरसवान छन् । मिडफिल्डरमा कप्तान सरु लिम्बू, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सृजना सिंह र सम्झना लावती छन् । 
यस्तै फर्वाडमा रेखा पौडेल, रश्मी कुमारी घिसिङ, एलिसा जीम्बा, सम्झना शर्मा छन् । प्रतियोगिताको समूह बिमा रहेको रहेको नेपालले आगामी शुक्रबार पहिलो खेल पाकिस्तान र समूहको अन्तिम खेल बलियो प्रतिद्धन्दी बंगलादेशसँग खेल्नेछ । ६ टोली सहभागि प्रतियोगिताको समूह ए मा आयोजक भुटानसँगै भारत र माल्दिभ्स छन् । करिब २ महिनाको तयारीपछि साफ च्याम्पियनसिप खेल्न गएको नेपालको उपाधि जित्ने लक्ष्य छ । 
प्रशिक्षक श्रेष्ठले भने, “राम्रो तयारी  गरेका छौं र च्याम्पियन बन्नेमा आशावादी छौं ।” टोलीमा केही अनुभवी खेलाडी र नयाँ खेलाडीको सम्मिश्रण रहेकाले उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्ने प्रशिक्षक श्रेष्ठले बताए । टोलीकी कप्तान सरु लिम्बूले खेलाडीबीच राम्रो समन्वय रहेको बताइन् । “एकअर्कालाई बुझेर खेलेका छौं । विपक्षी टिम पनि बलियो नै छन् तर हामी जित निकाल्नेछौं,” उनले भनिन् । समूहमा पाकिस्तानभन्दा बंगलादेश बलियो टिम रहेपनि उत्कृष्ट जित निकाल्ने कप्तान लिम्बूको दाबी छ । 
  

प्राप्त प्रतिकृयाहरू

To Top