आर्थिक समृद्धीको बाटो सरकार हिडेको छः मुख्यमन्त्री पोखरेल

अर्थ असोज ९ २०७५ ekhabarnepal
Rcc

रुपन्देही व्यापार संघको १७ औं साधारणसभा सम्पन्न
बुटवल असोज, ८–मुलुकको आर्थिक विकासका लागि आत्मनिर्भरतामा आधारित अर्थतन्त्रको विकास गर्न गाउदेखि शहरसम्मको व्यापार विस्तार गर्नु जरुरी रहेको बताइएको छ । मुलुकको आर्थिक विकास वास्तविकता र व्यवहारिकतामा आधारित योजना र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र हुने हुदा समृद्धीको यात्रा तय गर्न राज्य र नीजि क्षेत्रवीच सहकार्य हुनु जरुरी रहेको कुरामा जोड दिइएको छ । 
रुपन्देही व्यापार संघको १७ औं साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले सरकारले आर्थिक समृद्धिको एजेण्डा सहि रुपमा कार्यान्वयन गर्न नसकेको गुनासो गर्दै सरकारको अलमलताका कारण व्यापारको क्षेत्र मारमा परेको हुदा आर्थिक विषयमा राज्य सचेत हुन आग्रह गरेका थिए । बक्ताहरुले लामो समयदेखि परनिर्भतामा रहेको हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण नगर्दासम्म राष्ट्रको विकास हुन नसक्ने भनाई राखेका थिए । 
कार्यक्रममा संघले आयोजनागर्न लागेको लुम्बिनी एक्स्पो–२०७५ संघको विषेश गतिविधि अन्तर्गतको महत्वपूर्ण कार्यक्रम भएको हुदा त्यसको आयोजना भव्य र एतिहासिक तरिकाले सम्पन्न गर्न अपभोक्ताहरुको चाहाना र अपेक्षालाई मनन गर्न सुझाव दिइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघियता व्यवस्थाको विपक्षमा भैरहेको विरोध समय सान्र्दभिक नभएको दावी गर्नु भयो । उहाले संघिय प्रणाली कार्यान्वयनमा आएमा मात्र ७ महिना भएको छ, २ सय ४ वर्षिय राणा शासनलाई नै विर्साउने गरि संघियताको जुन रुपमा विरोध भएको छ यो अबुझहरुको काम भएको आरोप लगाउनु भयो । 
मुख्यमन्त्री पोखरेलले दुई कम्युनिष्ट पार्टीको एकतालाई नरुचाउनेहरुको समुहले सरकारका नकारात्मक कामको खोजी मात्र गरेको र जनतामा भ्रम सिर्जना गर्ने काम गरेको भन्दै सरकारको कामबाट आर्थिक विश्लेषकहरु नै असफल भएको दावी गर्नु भयो । उहाले केपी ओली पहिलो पटक प्रधानमन्त्रीत्व कालमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको वजेटको जगमा मुलुकको जिडीपीमा आएको सुधारले आर्थिक समृद्धिको दिशा सकारात्मक रुपमा अगाडि बढेको भनेर बुझन आग्रह गर्नु भयो । 
पोखरेलले सरकारले जनताका पक्षमा गरेका निर्णयलाई असफल बनाउन योजनाबद्ध रुपमा अराजक तत्वहरु लागेको भन्दै सरकारको काम हेर्न २ बर्ष सडक नगए हेर्न व्यवसायीहरुलाई सुझाव दिनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले आफ्नो काम शुन्यबाट थालेको हुदा जनताको अपेक्षा अनुसारको काम देखाउन नसकेको स्वीकार गर्नुभयो । पोखरेलले यसबाट आफु विचलित र निराश होइन गम्भिर बनेको बताउदै केन्द्रबाट प्रदेशलाई प्रर्याप्त सहयोग नपाएको गुनासो गर्नुभयो । 
उहाले प्रदेशको राजधानी तोक्ने विषयलाई हल्लाको विषय नबनाउन भन्दै त्यसको टुगों विधि र प्रक्रियाबाट लाग्ने छ, चुनावका बेला बोलीएका कुराले अहिले कुनै अर्थ नलाग्ने हुदा सबैले त्यसै अनुसार आफ्ना अभिव्यक्तीहरु दिन अनुरोध गर्नु भयो ।
मुख्यमन्त्री पोखरेलले ५ नं. प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रदेश सरकारले स्थिति अध्ययन गरि योजना छनौट र प्राथमिकताका सूचीहरु तयार गरेको भन्दै यस क्षेत्रमा रहेका राष्टिय गौरवका आयोजनालाई चासोकासाथ हेरिएको दावी गर्नु भयो 
पोखरेलले बुटवलको वजार विस्तार र विकासका लागि भौतिक संरचनामा परिर्वत गर्न सुझाव दिनु भयो । उहाले अहिलेको भौतिक संरचनाबाट यस क्षेत्रको वजारको विविधिकरण हुन सक्दैन भन्दै व्यवसायमा प्रतिष्पर्धिहरुलाई आउन दिन नसकेमा व्यवसायमा अल्छीपना बढ्नुकासाथै नयाँ सिर्जना हुन नसक्ने बताउनु भयो । 
सम्बोधनका क्रममा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारको घटनाको छानविनका क्रममा प्रारम्भिक चरणमा राज्य चुकेको तर सो घटनामा राज्य संलग्न नभएको स्पष्ट पार्दै घटनाको विरोधका नाममा गलत तत्वहरु चलखेल गरेको आरोप लगाउनु भयो । अपराधिहरु समाज नै संरक्षणका कारण पक्राउमा पर्न नसक्ने गरेको बताउदै पन्तको हत्यारा पक्राउ गर्न कञ्चनपुर क्षेत्रका समाज नै अगाडी आउनु पर्ने उहाको भनाई थियो । 
कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभासदस्य माननीय भोजप्रसाद श्रेष्ठले नया राजनीतिक परिवेशमा केही राज्यको अलमल अवस्था देखिएको भएपनि संघीयताको कार्यान्वयमा सबैको सुझाव र सहयोग जरुरी रहेको बताउनुभयो । उहाले संघीय संरचनाको सफलता र असफलताको मुल्याङकन गर्ने समय अझै नआइसकेको बताउदै बुटवलको विकासमा रुपन्देही व्यापार संघले खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । 
कार्यक्रममा अध्यक्षिय मन्तब्य राख्दै संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले नेपालको व्यापार अत्याधिक निर्वाहमुखी पेशा बनेको भन्दै त्यसको सुधारका लागि सबै सजग बन्नु पर्ने धारणा राख्नु भयो । उहाले जबसम्म देशमा औद्योगिक एंव व्यावसायिक विकास हुँदैन त्यस राष्ट्रमा कुनै पनि विकासले गति लिन सक्दैन भन्ने कुरालाई राज्यले मनन गरि राष्ट्रिय नीति तया गर्न आग्रह गर्नु भयो ।
उहाले आफ्नो मन्तव्यमा संघले विगतदेखि अगाडि सारेका ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारालाई साकार बनाउन आफ्नो तृत्वको समितिले विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्ने गरी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर काम गरेको स्पष्ट पार्नु भयो । 
अध्यक्ष श्रेष्ठले यस क्षेत्रका व्यवसायीहरुका समस्या बुदाँगत रुपमा राख्दै खुला सीमाबाट हुने अवैध कारोवारबाट नेपाली व्यवसायीहरु मर्कामा परेको भन्दै चेकजाच कडा गरि त्यसलाई नियन्त्रण गर्न आग्रह गर्नु भयो । उहाले करको दर होइन दायरा बढाउन, मुलुकको बढ्दो व्यापार घाटा कमगर्न, सुचना विनानै बैंकहरुले व्याज दर वृद्धि गर्ने गरेको, घरवहाल कर व्यवस्थित गर्न, सरकारी सम्पत्तिको सही ढंगले उपयोग गर्न, सहकारीको माध्यमबाट ग्रामीण कृषि बजार व्यवस्थापन गर्न, बुटवलमा निमार्ण थालिएको मेलास्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम तिब्र बनाउन, रुपन्देहीमा निर्माण भएको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल सञ्चालनमा ल्याउन, वजार क्षेत्रलाईव्यवसायको प्रकृति अनुसार वर्गीकरण गरी स्थानहरु छुट्याउन, प्रदेशका १२ वटा जिल्लालाई कृषि, पर्यटन लगायत विभिन्न व्यावसायिक प्रकृतिका पकेटक्षेत्र बनाउने जस्ता मागहरु राख्नु भएको थियो 
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आर्चाय, नेपाल चेम्बर अफ कमर्श प्रदेश नं. ५ का अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष भिमलाल पौड्याल, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का प्रदेश कार्यालय सचिव गोपाल भट्टराई, नेपाली कांग्रेसका प्रतिनिधि विष्णु पोखरेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव दिपक पौड्याल, रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष टंकप्रसाद पोखरेल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका उपाअध्यक्ष निरु गौतम, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल लगायत बोल्नु भएको थियो । 
संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यमलाल लोहनीको स्वागत तथा महासचिव प्रकाश ढकालको सञ्चालनमा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । 
साधारणसभाको दोस्रो सत्रमा भएको बन्द सत्रमा महासचिव प्रकास ढकालको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिपक अधिकारीको आर्थिक प्रतिवेदनमा छलफल गरिएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top