बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने 

अर्थ भाद्र २१ २०७५ ekhabarnepal
Sekh


ढाका। बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने योजना सार्वजनिक गरेको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन बंगलादेश भ्रमणमा रहेका बेला बंगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो।

उसले सन २०४० भित्र ९ हजार मेगावाट विद्युत नेपालबाट खरिद गर्ने योजना अघि सारेको हो। बंगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ। 

ढाकामा  बिहीबारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने दावी गरिन।

उनले भनिन् ‘नेपाल र भुटानबाट विजुली आयात गर्ने हाम्रो कोशिस जारी छ, नेपालसँग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ।’उनले बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन्।

नेपाल र बंगलादेशबीच गत १० अगस्टमा इनर्जी कोअपरेशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नेपालका उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका उर्जा मन्त्री नसरुल हमिदबीच उक्त समझदारीमा हस्ताक्षर भएको थियो।  

उर्जा मन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागी बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानीगर्न आग्रह गरेका छन्। 

पुनले आगामी १० बर्षमा नेपालले १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको योजना रहको भन्दै आफुहरु बंगलादेशमा विद्यूत निर्यात गर्न तयार रहेको धारणा राखे।

हामी १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गरिसक्छौ, त्यसमा ५ हजार मेगावाट विद्युत बंगलादेशलाई बेच्न हामीलाई समस्या हुँदैन्,’मन्त्री पुनले भने।  

बंगलादेशको तीनदिने भ्रमणका क्रममा ढाका पुग्नु भएका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ। पुनले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। 
 

प्राप्त प्रतिकृयाहरू

To Top